सशस्त्र विद्रोह सुरु भएकै वर्ष २०५२ सालमा सरकारले कृषि क्षेत्रलाई योजनाबद्ध ढंगले विकास गर्ने लक्ष्य समात्यो । स्वदेशी–विदेशी गरी २१ जना कृषिविज्ञलाई करिब ३० करोड रूपैयाँ पारिश्रमिक दिई तयार पारियो ‘दीघकालीन कृषि परियोजना’ (एपीपी) । यसले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकतातिर लैजान २०५२ देखि २०७२ सालसम्मको ट्रयाक को¥यो ।
त्यसताका एपीपीका मुख्यतः चार उद्देश्य थिए । उत्पादकत्वमार्फत् कृषिको बृद्धि दर बढाउने, उत्पादन बृद्धि गर्ने, रोजगारमार्फत् जीवनस्तर सुधार्ने र गरीबी घटाउने । २० वर्षे रणनीतिक दस्तावेज २०५२ मा तयार हुँदै गर्दा कृषि क्षेत्र अहिलेभन्दा नाजुक अवस्थामा गुज्रदै थियो । सरकार दातृ तथा विकासका साझेदार निकाय गैरसरकारी संस्थाको प्राथमिकतामा कृषि परेको थिएन । न त पढेलेखेका युवाको रोजाइमा नै थियो । बुढापाका, नपढेका, असक्षम र तल्लो दर्जाका नागरिकले गर्ने पेशा ठानिन्थ्यो, कृषिलाई । जसले कृषिलाई मुख्य कर्म बनाए तिनीहरूले पनि परम्परागत तरिकाबाट गर्थे । द्वन्द्वका बेला कृषि कर्म गर्नेहरू जमिन छाडेर सहर, सदरमुकाम र विदेश तिर भासिए । पलायनले कामदार अभाव भयो, उत्पादन घट्यो । तर यतिबेला युग बदलिएको छ ।
खाद्य सुरक्षा विश्वको चुनौती बनेको समयमा अहिले कृषि सबैको प्राथमिकतामा परेको छ । पढेकाले गर्ने पेशा बनेको छ, कृषि । युवाले यसलाई व्यवसायीकरणमा बदलेका छन् । राजनीतिकर्मी, कलाकार, निजामती सेवाबाट अवकास पाएका कर्मचारी, उच्च शिक्षा हासिल गरेका युवा पनि कृषिमा भविष्य खोज्न थालेका छन् । विदेशबाट फर्कनेको पहिलो रोजाइ बनेको छ, कृषि । यसलाई उद्यम बनाउन चाहने युवा अग्रमोर्चामा छन् ।
नेपाल कृषिप्रधान देश हो । कुल जनसंख्याको दुई तिहाइभन्दा बढीले कृषिलाई खाद्य सुरक्षा, रोजगारी तथा आय आर्जनको प्रमुख स्रोत बनाएका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा पनि कृषि क्षेत्रले सबैन्दा बढी योगदान पु¥याएको छ । दैनिक १५ सयभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिने सरकारी तथ्याङ्क छ । विदेशिएका युवाहरूमध्ये पनि कतिपय कृषि पेशामा संलग्न छन् । खासगरी, दक्षिण कोरिया, साउदी अरेबिया, इजरायल, जापान लगायत देशहरूमा कृषि पेशाका लागि कामदारहरूको माग हुन्छ । स्वदेशमा रोजगारको अवसर नपाउँदा रोजगारीका लागि विदेशिने युवाहरूको संख्या ४० लाख नाघिसकेको अवस्थामा केही युवा भने नेपालमा नै भविष्य बनाउन लागिपरेका छन् । कोही वैदेशिक रोजगारबाट फिरेका छन् त कोही विदेश जान सक्ने युवालाई स्वदेशमै आय आर्जनको सम्भावना देखाउन लागि परेका छन् ।
पछिल्लो समय कामप्रतिको लगनशीलता भए अर्थोपार्जनका लागि विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन्, मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराज उप्रेती । होटल म्यानेजमेन्टमा क्याटरिङ कलेज अफ मुम्बईबाट बीएचएम गरेका डिल्लीराजले कृषि व्यवसायबाटै आफ्नो पहिचानसहित मनग्य आम्दानी पनि गरिरहेका छन् ।
मागुरमाडीस्थित उनको नर्सरी फर्म कुनै पर्यटकीय गन्तव्य होइन । तर, देख्दा मनै लोभ्याउने आकर्षक कृषिउद्यम त्यहाँ देख्न पाइन्छ । करिब नौ वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बिताएका उनले विदेशबाट फर्किसकेपछिको रोजगारीको उत्तम गन्तव्यको रूपमा कृषि उद्यमलाई लिए ।
स्वदेशमा देखिएको बेरोजगार समस्याका कारण नौ वर्ष कतारमा कडा परीश्रम गरेर फर्केका डिल्लीराज २०६९ सालदेखि निरन्तर कृषि पेशामा छन् । एक बिघा क्षेत्रफलमा कागती, तेजपतासहित मलेसियन साल, टिक लगायत विभिन्न २० प्रजातिका बोटबिरुवाको नर्सरी गरेका छन् ।
व्यवसायिक कागती खेतीमा झापाकै सफल किसानका रूपमा रहेका उनले वार्षिक दुई लाख दाना कागती र करिब २५ हजार त्यसको बिरुवा बिक्री गर्ने गरेका छन् । व्यावसायिक कागती खेतीका लागि डिल्लीराज झापाको सफल कृषक भएको बताउँछन्, एनएमसी डेरीको कृषि समिति सदस्य सचिव राजेन्द्र आचार्य । उनले भने, ‘डिल्लीराजजी सफल कृषक हो, उहाँले झापालाई कृषिको आधुनिकीकरणतर्फ उन्मुख गर्नुभएको छ ।’ आचार्यकै शब्दमा डिल्लीराज व्यावसायिक कागती खेतीका अभियन्ता हुन् ।
हरि निमावि मागुरमाडीका पूर्व प्रधानाध्यापक चुडामणि रेग्मी डिल्लीराजले कृषिमा छलाङ मारेको बताउँछन् । ‘काँस नउम्रिने जमिनमा उनले गरेको प्रगति हेर्दा गर्दा हुँदो रहेछ भन्ने प्रमाणित भएको छ,’ उनले भने ।
उप्रेतीले नर्सरीसँगै गड्यौला मलको उत्पादन पनि गर्दै आएका छन् । कृषिको अत्यन्तै ठूलो सम्भावना रहेको बताउँदै उप्रेती भन्छन्, ‘आफूसँग भएकै कुरालाई उपभोग गर्ने हो भने आम्दानीको स्रोत खडा गर्न सकिन्छ ।’
उनकोे नर्सरी फर्ममा पुग्दा उनी आफैँ पनि बोटबिरुवाको स्याहार सुसारमा व्यस्त थिए । आफू पूर्णकालीन रूपमा फर्ममा खट्ने गरेको उनले सुनाए । व्यवसायिक दक्षता भएका डिल्लीराजले भने, ‘सुरुमा एउटा टनेलमा नर्सरी राखेर सुरु गरेको यो व्यवसाय यसरी फस्टाउँछ भन्ने मैले पनि सोचेको थिइनँ ।’
कामप्रतिको लगनशीलता र निरन्तरता भए सफलता हात पर्ने उनले विश्वास व्यक्त गरे । डेढलाख रूपैयाँबाट सुरु गरेको उनको व्यवसायमा अहिले एक करोड रूपैयाँभन्दा बढी लगानी पुगेको छ । कृषि व्यवसायबाट आफू सफल भएको बताउने डिल्लीराजलाई बुबाआमा र श्रीमती दिक्षाले पनि राम्रो साथ दिएका छन् ।
‘नेपालीले वैदेशिक रोजगारीमा जानु भनेको सुनको भाँडामा भिख माग्नुसरह हो’ भन्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘काम गर्ने इच्छाशक्ति भए मासिक ५०÷६० हजार रूपैयाँ कमाउन विदेशिनु पर्दैन ।’ कृषिमा राम्रो भविष्य र सम्भावना देख्छन्, डिल्लीराज । भन्छन्, ‘हामी लाखौँ रूपैयाँ तिरेर कामको खोजीमा विदेशिन्छौँ, तर यहाँ भएका सम्भावना र अवसरको खोजी गर्दैनौँ ।’

विभिन्न प्रजातिका वार्षिक दुई लाख बिरुवा बिक्री गर्दै आएको बताउने उप्रेतीले यसको बजार अत्यन्तै राम्रो रहेको बताए । झापाका विभिन्न ठाँउसँगै छिमेकी जिल्ला मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङसम्म उप्रेतीले हुर्काएको बिरुवाको निर्यात भइरहेको छ । बिरुवा बेचिसकेपछि उनले प्राविधिक सहयोग पनि उपलब्ध गराउने गरेका छन् । दुई वर्षसम्म त्यसको रेखदेखको जिम्मा आफैँ लिन्छन्, त्यो बीचमा बिरुवा मरेमा अर्को बिरुवा उपलब्ध गराउने गरेका छन् ।
उप्रेतीले कागती बगानभित्र सब्जी खेती गरेका छन् । उनी आफूले उत्पादन गरेको सब्जी धुलाबारी बजारबाट आफैँ बिक्री गर्छन् । उत्पादन पछिको बजारको अवस्था, उत्पादित बस्तुको मूल्य, ग्रेडिङ र प्याकेजिङलाई व्यवस्थित गर्न सके आम्दानी मात्रै होइन, यो पेशाबाट जीवन नै परिवर्तन गर्न सकिने उनको अनुभव छ ।
उप्रेतीले आफ्नो उत्पादन बिक्री गर्न धुलावारी चोकमा डिएनडी एग्रोफोरेस्टिक सञ्चालनमा ल्याएका छन् । त्यहाँ उनलाई श्रीमती दिक्षाले साथ दिएकी छिन् । मेची क्याम्पसबाट स्नातकोत्तर गरेकी दीक्षा पनि प्राविधिक हुन् । व्यवसायप्रति सन्तुष्ट रहेको बताउँदै उनले भनिन्– ‘कृषिलाई आधुनिकीकरण गर्ने हाम्रो योजना सफल भएको छ ।’
प्रस्तुति :राजु पाठक, झापा
वि.सं.२०७४ असार १७ शनिवार ०९:४६ मा प्रकाशित























