१८ असार, इलाम । नेपालकै सबैभन्दा पुरानो नगरपालिकाका रूपमा रहेका इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी हासिल गरेको छ ।
प्रमुख महेश बस्नेतले ११ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमालय कर्माचार्यले नौ हजार २६८ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा एमालेकै सुशीला नेम्वाङले १० हजार ९४६ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्दा कार्कीले नौ हजार २५४ मत प्राप्त गर्नुभयो ।
बाह्र वडामध्ये वडा नं १, २, ५, ६, ९ र १० एमाले विजयी भएका छन् भने वडा नं ३, ४, ११ र १२ मा काँग्रेसले विजयी प्राप्त गरेका छन् । त्यस्तै वडा नं ७ र ८ को वडाध्यक्ष काँग्रेसले र अन्य सदस्यमा एमाले जितेको छ ।
नगरपालिका प्रमुख बस्नेत २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि इलाम नगरपालिकाको नगर प्रमुखमा विजयी हुनुभएको थियो । विसं २०४२ सालको पञ्चायतकालिन स्थानीय चुनावमा निर्वाचित भई प्रधानपञ्च बनेका र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा काँग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बनि बस्नेतसँगै ७३ मतले पराजित बन्नुभएका कर्माचार्यले २० वर्षपछि पनि भेट हुँदा ठूलो मतान्तरले पराजित हुनुप¥यो ।
मिक्लाजुङमा एमाले विजयी
मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेद्वार विजयी भएका छन् ।
सो पार्टीका देवीप्रसाद आचार्यले पाँच हजार २२९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मानबहादुर राईले तीन हजार ६०५ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, नेकपा (एमाले)कै उपप्रमुखमा सरला राईले पाँच हजार ८३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले तीन हजार ६२५ मत प्राप्त गर्नु भएको थियो ।
नौ वडा रहेको सो गाउँपालिकामा एमालेले १, २, ४, ६, ७ र ८ मा वडाअध्यक्षसहित पूरा समूहकै जित हात पारेको छ भने नेपाली काँग्रेसले ३, ५ र ९ नं वडाका वडाअध्यक्षसहित पूरा समूह नै विजयी भएको सो गाउँपालिकाको निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले जानकारी गराउनुभएको छ । रासस
वि.सं.२०७४ असार १८ आइतवार १६:४९ मा प्रकाशित































