
इजरायलमा रहेकी सरिन ख्युङ्वा तामाङले सरिता मर्हजनलाई आर्थिक सहयोग गरेकी छन् । बिरामी बाबुलाई आफ्नो कलेजोको टुक्रा दिएर जीवन दान दिएकी महान तथा साहसी छोरी सरिता मर्हजनलाई सरिनले इजरायलबाट ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।
नेपाल तामाङ घेदुङ इजरायलकी महासचिव, संघीय जनमुक्ति पार्टीकी केन्द्रीय सदस्य रहेकी सरिनले बाबुलाई कलेजको दिएर ज्यान बचाए पनि सरिताको आर्थिक अवस्था कमजोर भएको संचारमाध्यमबाट थाहा पाउँदा दुःख लागेको बताउँदै उक्त सहयोग गरेकी हुन् । सरिनले आफ्नो श्रमको कमाइबाट छोरीले पनि केही गर्न सक्छन भन्ने उदाहरण स्वरुप प्रेरणादायी र साहसिक कार्यको सम्मान गर्दै उक्त सहयोग गरेको बताएकी छन् ।
उक्त रकम नेपाल तामाङ घेदुङकी सचिव तथा पत्रकार सन्चु ब्लोन तामाङद्धारा सरितालाई हस्तान्तरण गरेको बताइएको छ ।
वि.सं.२०७४ साउन १३ शुक्रवार ०९:३२ मा प्रकाशित