२४ साउन, बझाङ । पशु चौपायामा खोरेत रोग देखापरेको छ । खोरेत रोगको प्रकोप फैलिएपछि औषधि लिन आएका स्थानीय बासिन्दा खाली हात घर फर्कनु परेको छ ।
खप्तड छान्ना गाउँपालिका–६ बयानाका लोकेन्द्रबहादुर थापा ६५ वटा बाख्रामा खोरेत रोग देखिएको बताउनुहुन्छ । “सत्ताइस बाख्रा थला परेका छन् न घाँस खान्छन् नत हिँडडुल गर्न सक्छन्,” उहाँले भन्नुभयो । औषधि लिन छान्ना पशु सेवा कार्यालयमा गएपनि नपाएपछि जिल्ला पशुसेवा कार्यालय आउनुभएको छ । पशुसेवा कार्यालले औषधि सकिएको भनेपछि थापा निराश हुनुहुन्छ ।
पशुसेवा कार्यालयका कर्मचारीले बाहिर एग्रोभेटबाट फलानो औषधि किनेर लैजानु भन्दै कागजमा लेखिदिने गरेका छन् । औषधि किन्न पैसा नहुँदा पीडित रित्तोहात घर फर्कन थालेका छन् ।
लामो समयदेखि भेडापालन व्यवसाय गर्दै आउनुभएका नवराज सिहं खोरेत रोगले दिनहुँ भेडा मर्न थालेको बताउनुहुन्छ । उहाँले करिब २०० भेडा पालिरहनुभएको छ । “भेडामा खोरेत रोग लागेको छ, औषधि अभावका कारण अहिलेसम्म १५ वटा भेडा मरिसके,” उहाँले भन्नुभयो ।
खोरेत रोगले पशु चौपायाको मुख पाक्ने, घाँस खान नसक्ने, खुट्टा सुन्निने र पाक्ने, ज्वरो आउने गरेको छ । सदरमुकाम चैनपुुरसँग जोडिएको जयपृथ्वी नगरपालिका–८ मा समेत खोरेतले पाँचवटा बाख्रा र गाई मरेको सो वडाका वडाध्यक्ष नवराज कोइरालाले बताउनुभयो ।
मस्टा गाउँपालिकामा समेत पशु चौपायामा खोरेत रोग देखिएको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक कर्णबहादुर खड्काले बताउनुभयो । “पशुलाई खोप लगाउन नमान्दा खोरेत देखापरेको हो,” उहाँले भन्नुभयो ।
वरिष्ठ पशु सेवा चिकित्सक जीतेन्द्रमान श्रेष्ठ पशु चौपायाको औषधि उपचारका लागि रु तीन लाख मात्र वार्षिक बजेट आउने गरेको बताउनुहुन्छ । खरिदका लागि न्यून रकम आउने गरेका कारण औषधिको समस्या भएको उहाँको भनाइ छ । जिल्लामा १२ वटा पशु सेवा केन्द्र रहेका छन् ।

