८ असोज, काठमाडौं । राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म दशैँको आगमनसँगै शुक्रबारदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सुविधा सम्पन्न पर्यटकीय बस । बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफि, चिसो, चकलेट, ट्वाइलेट आदिको सुविधा रहेको छ ।
दक्षिण एसियालीस्तरको बस सेवा संचालन गर्दै आएको जगदम्भा ट्राभल्सद्धारा उक्त बस संचालनमा ल्याइएको हो ।
पर्यटकहरुलाई लक्षित गरेर ल्याइएको अन्तराष्ट्रिय स्तरको सुविधा रहेको उक्त बसको सिट सिंगापुर र अमेरिकाको वासिङटन डिसीबाट ल्याइएको हो भने फिट भारतमा गरिएको हो ।
नेपालमै पहिलोपटक भित्रिएको अन्तराष्ट्रियस्तरको सुविधा रहेको उक्त बस २ करोडमा खरिद गरिएको हो । बस पोखरा–काठमाडौं रुटमा चलाइने बताइएको छ ।
बसमा लक्जरियस सिट भएकाले चाहे अनुसार बस्न र सुत्न समेत सकिन्छ । साथै सिटमै बसेर खान समेत मिल्छ । बसमा प्लेनमाजस्तै प्रत्येक सिटका लागि टिभी जडान गरिएको छ । यात्रुले आफ्नै तरिकाले विभिन्न च्यानल लगाएर आफूलाई मन परेको प्रोगाम हेर्न सक्छन् ।
वाइफाइ फ्रि रहेको उक्त बसमा ट्वाइलेट, बाथरुम सहित मोबाइल चार्ज गर्न पनि मिल्छ । बसमा ग्लोबल पोजिसन सिस्टम (जीपीएस) जडान गरिएको छ । जसमा वसमा यात्रु गर्नेकापरिवारले वस कहाँ पुग्यो भनेर हेर्न सकिने पनि बताइएको छ ।
२१ जना बस्न मिल्ने उक्त बसमा यात्रा गर्ने नेपालीलाई प्रतिव्यक्ति २ हजार २ सय र विदेशीलाई २ हजार ७ सय भाडादर कायम गरिएको छ । त्यसमा यात्रुले खाना, चिया, कफी लगायतका सबै सुविधा रहेको छ ।
बस प्रत्येक दिन काठमाडौंको दरमार्गमा रहेको होटल अन्नपूर्णबाट विहान सात ३० बजे पोखराका लागि छुट्ने बताइएको छ । बस सञ्चालका अनुसार नेपालीले तिर्ने २ हजार २ सयमा बसको भाडामा ६५० भाडा, बफेट खानाकमो ५५०, खाजा १५०, क्र्यु सर्भिस चार्ज १००, २ वटा मिनिरल वाटर ५०, काउज सिट चार्ज २००, मनोरन्जन खर्चबापत २५०, चिया, कफि र चकलेट वापतको २०० र रेष्टुरुम चार्ज ५० रहेको छ ।