सबै गुटबन्दी र चलखेललाइ हेर्दा त्यहाँ योजना, लगाब,पारदर्शिता भएको र नेपाली डायस्पोराका मजदुर प्रतिको समबेदना भएको नेता पुग्ने सम्भाबना न्युन देखिन्छ । यो यदि मात्र आर्थिक हैसियत राख्नेहरुकै फेरोमा घुम्नु पर्ने हो भने धनिहरुको रमिता देखाउने क्लब श्रमजीबी डायस्पोराका मजदुरहरुलाई किन चाहियो ? हामी भाग्यले प्रवाशिको जिबन जिउन बाध्य भएपनि नोकरशाहहरुको रमाइलोको साधन बन्न जरुरी छैन ।
बेल्जियम हेलिकप्टरको बेगसंगै हुइकिदै आकाशमा सुसेली हालेर भोट माग्दैछन एनआरएनएका नब धनाड्य अभियन्ताहरु । उनीहरुलाई थाहा छैन, त्यो आकाश भन्दा तल तिनीहरुकै कति आफन्त, छिमेकी र इष्टमित्रका छोरी बुहारी त्यहि साधन नभएर सुत्केरी ब्याथाले प्राण त्याग्दै गरेका होलान । उपचार नपाएर वा अस्पताल लैजाने साधन नपाएर अथवा उपचार गर्ने पैसा र पहुच नभएर उनीहरुले प्राण त्यागि सकेका पनि हुन सक्छन । तर ,एनआरएन नेता , हामीले भोट हाल्न अधिवेशन कुरेर बसेका नेता, संसार भर छरिएर आफ्नो श्रम बेच्न बाध्य भएका वा बनाइएका मजदुरहरुका नेता, संसारको सबै भन्दा गरिब देशका गरिब जनताका छोराछोरीहरुको आशु पुछ्न र उनीहरुको उत्थान गर्न कम्मर कसेर लागेका नेताको हेलिकप्टर रयाली देख्दा लाग्छ अब हाम्रो र उनीहरुको बिच सम्झने नमिल्ने खाडल परि सकेको छ ।
उनीहरुको हामि प्रतिको समबेदना मरी सकेको छ । गाउघरको दुख र पीडाको त कुरै छोडौ , हाम्रो परदेशको पिडा र दुखसंग उनीहरुको रत्तिभर मतलब छैन । यो फोरम त खालि उनीहरुको मनोरंजन, हेलिकप्टर सयर र कथित पुजीपतिको खानदानिया रवाफ देखाउने मंच मात्र हो । उनीहरुमा समबेदना ज्युदो भए अध्यक्ष पुगे हुने कार्यक्रममा हेलिकप्टरको रयाली लगेर गाउँ तर्साउने गरि हेलिकप्टर बर्साउन के जरुरि थियो ? खालि भोट माग्न मात्र हैन ? शेष घले पुगे पछि हामी पुग्नै पर्छ भनेर डाहले मर्ने र “हामि पनि घले जत्तिकै हौ” भन्नलाई मात्र किन बर्साएका होलान म्याग्दीको त्यो गाउमा हेलिकप्टर ? फेरी अति जरुरि काम बाहेक देखाउनकै लागि हेलिकप्टरमा सयर गरेर गरिब जनताको खरको छानो उडाउनेलाई डायस्पोराका सम्पूर्ण श्रमिकहरुले बहिस्कार गरेर , भोटमा लोप्पा ख्वाइदिए भने यिनले के गर्लान ?
हाम्रो मुलुक केहि राज्यसंग सम्बन्धित आवस्यक र अति जरुरि उपचार प्रक्रिया वा उद्वार बाहेक खालि खादा र माला भिर्न मात्र हेलिकप्टर उडाउन सक्ने हैसियतमा पुगेको छैन । सक्छौ तिमीहरुले त्यो विलासमा खर्च गर्ने रकमको थोरै भाग दुर्गमका जनताको उपचार सम्बन्धि उद्वारमा देउ । तिमीले खेल्ने क्यासिनो र हरियो लेबल रक्सीको थोरै भाग सुत्केरी हुन नसकेर प्राण त्याग्न लागेकी तिम्रै आफ्नो छिमेकी दिदीको उद्वारमा लगाउ । तिमीले आफैले टिकट किनिदिएर ओसारिएका कथित तिम्रा दासहरुको भरण पोषण खर्च कटौती गरेर ति दुखले थिलो थिलो पारिएका एक छाक खान पनि धौ -धौ तिम्रा मामा फुपुका र मित बाका र उनका सन्ततिहरुको उद्वार र भबितब्यमा सहारा बन । तिमीलाई तिम्रो आची सोहर्ने र तिम्रो बान्ता अन्जुलिमा थाप्न तिमीले आफै टिकट काटी दिएर लागेका ति बिकाउ पत्रकारको पनि आवस्यकता पर्दैन र दासहरुको पनि आवस्यकता पर्दैन । तिमीहरुको बिज्ञापन मजदुर आफैले गर्छन । यदि तिमीले मनैबाट डायस्पोराका उत्पीडित मजदुर, खाडीका बेसहारा दिदि बैनी र मलेशियाका आफन्तहरुको थोरै पनि सहारा बन्न सक्यौ भने । सुन आफ्नै सामर्थ्यले टल्किञ्छ तर जलप केहीबेर पछि खुइलिएर जान्छ । तिमीले गरेका सबै राम्रा नराम्रा कामबारे आफ्नो श्रम बेच्नेले भोट हाल्ने बेलामा पक्कै एकपटक सोच्छ । उसको उठ, बस, रहन सहन, हाउभाउले नै थाहा हुन्छ कि यी उमेद्वार श्रमिक मैत्री छन् वा छैनन् । दुखका दिनमा कसले कुन नियतले के भनेर हेप्छ, त्यो पनि हेक्का राखेको हुन्छ मजदुरले । “
एकजना लन्डनबाट आएको साथीले भन्दै थिए , ….उनको बारेमा तिम्रो के भनाइ छ? मलाइ थाहा छैन तर मेरो त कुरो स्पष्ट छ , मैले मुखले नाइँ नभने पनि उनलाई भोट दिन्न, उनले हामी परिवार सहित पैदल हिडेको बेलामा चिल्लो गाडी ल्याएर हाम्रो नजिक रोक्छन र नमस्कार पनि नभनी हर्न बजाएर कुद्छन । म भर्खर आएको उनकै फुपुको छोरा, तर कहासम्म हो म पुर्याइदिञ्छु सम्म भन्दैनन । उनको त्यो रवाफले मलाइ घोचेको छ दाइ !” सम्मान खोजेर मात्र पाइने बस्तु हैन, सम्मान र भावनात्मक सम्बन्ध आत्माले दिने स्वीकृति पत्र हो जुन कुरा अरुको सहारा बनेर मात्र प्राप्त गर्न सकिन्छ, कर्मको समानता र समबेदनाको साथि बनेर प्राप्त गर्न सकिन्छ ।
भन्नेले भानिदेलान, त्यो उनीहरुको निजि कुरा हो , उनीहरुको ब्याक्तिगत सम्पत्ति खर्चेर उदाएका हेलिकप्टर हुन् , क्यासिनोको मजा उनीहरुको ब्याक्तिगत धन खर्चेर लिइएको हो , महंगा रक्सि उनीहरुले आफै किनेका हुन् । तर हैन, उनीहरु अब ब्याक्तिगत जिबनबाट निस्केर हामी सामाजिक जिबनहरुको नेतृत्व गर्छौ,डायस्पोराका सबै नेपालीको नेता बन्छौ, हाम्रो जिबनको धेरै अंस सामुहिक हितको संरक्षणमा बिताउछौ भनेर आइसकेपछि उनीहरुका आचरण, बोलि, ब्याबहार र सामाजिक गतिबिधिहरुले ब्याक्तिगत प्रबाहबाट उन्मुक्ति पाई सकेको हुन्छ । उनीहरुका आचरण तुरुन्तै सामाजिक प्रवाहका अंस बनिसकेका हुन्छन । लोकले उनीहरुको आफ्नै तरिकाले मुल्यांकन गरिरहेको हुन्छ भन्ने कुरा उनीहरु स्वयंले बुझ्ने कुरा हो ।
यो प्रसङ्ग २१ असोज हेलिकप्टर प्रतिस्प्रधासंग जोडिएर आएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नेताहरु म्याग्दी प्रवासी नेपाली संघ (मोना) को कार्यक्रममा सहभागी हुन चारवटा हेलिकोप्टरमा आइतबार म्याग्दीको दरबाङ पुगेका बताइएपनि त्यो आगामी अधिवेशनको भोटलाई प्रभावित पार्न गरिएको खर्चिलो यात्रा थियो भन्न हिच्किचाउनु पर्दैन । चार वटै हेलिकप्टर रिजर्ब गरेर एनआरएनएका उमेद्वारहरु मोनासँग आवद्धहरुको मत अाकर्षित गर्न मात्र म्याग्दी पुगेको समाचारले अहिले डायस्पोरालाई झस्काई दिएको छ र अधिवेशनको बहसलाई हेलिकप्टरको पंखा वरिपरि घुमाइदिएको छ । शुरुमा मोनाको अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले, उनकी श्रीमती जमुना गुरुङसहित समूह एउटा हेलिकोप्टरमा पुगेका रहेछन ।
अध्यक्षलाई स्वाभाविक रुपमा निमन्त्रणा हुनेभयो किनकि मोना पनि डायस्पोराकै एउटा अन्तराष्ट्रिय संस्था हो । त्यसैले अध्यक्षले उद्घाटनकोलागि उपस्थिति जनाउनु अस्वाभाविक थिएन । लगत्तै संस्थापक अध्यक्ष उपेन्द्र महतो नेपाली सेनाको हेलिकप्टर लिएर कार्यक्रम स्थलमा पुगेछन । महतो चढेको सेनाको हेलिकप्टरमा एनआरएन युरोप संयोजक कुल आचार्य सवार रहेको समाचार नागरिक न्युजले छापेको थियो । न्युज अनुशार वर्तमान अध्यक्ष घले र संस्थापक अध्यक्ष महतो संघभित्रका दुई विपरित प्यानलको लबिङ्ग गरिरहेको बुझिन्छ । एनआरएएका वर्तमान उपाध्यक्ष तथा अद्याक्षका उमेद्वार भवन भट्ट छुट्टै हेलिकप्टरबाट एनआरएन सचिव अर्जुन श्रेष्ठ, प्रवक्ता रञ्जु थापा क्षत्री, अमेरिकाको क्षेत्रिय संयोजक सोनाम लामा, युरोप क्षेत्रिय सहसंयोजक प्रेम गुरुङ, युकेका पूर्व अध्यक्ष मुक्षत्र गुरुङ लाई लिएरकार्यक्रमस्थल पुगेको कुरा बाहिर आएको छ । गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने आठौं अन्तरार्ष्ट्रिय सम्मेलनमा आ-आफ्नो पक्षमा लबिङ्ग गर्न त्यो ठाउमा पुगेको बताइए पनि त्यसले डायस्पोरालाई दिने सन्देसले महत्वपुर्ण अर्थ राख्छ ।
यसबाट के बुझिन्छ भने अबको एनआरएनएहरुले पनि पहिले जस्तै हेलिकप्टर चढाउन सक्ने हैसियत भएका महाजनहरुकै खैजडी बजाउदै हिडाउनु पर्ने देखिएको छ । सबै गुटबन्दी र चलखेललाइ हेर्दा त्यहाँ योजना, लगाब,पारदर्शिता भएको र नेपाली डायस्पोराका मजदुर प्रतिको समबेदना भएको नेता पुग्ने सम्भाबना न्युन देखिन्छ । यो यदि मात्र आर्थिक हैसियत राख्नेहरुकै फेरोमा घुम्नु पर्ने हो भने धनिहरुको रमिता देखाउने क्लब श्रमजीबी डायस्पोराका मजदुरहरुलाई किन चाहियो ? हामी भाग्यले प्रवाशिको जिबन जिउन बाध्य भएपनि नोकरशाहहरुको रमाइलोको साधन बन्न जरुरी छैन ।
यदि तिमीले मनैबाट डायस्पोराका उत्पीडित मजदुर, खाडीका बेसहारा दिदी बहिनी र मलेशियाका आफन्तहरुको थोरै पनि सहारा बन्न सक्यौ भने दुनियाले जयजयकार गर्छ र खोजी–खोजी संस्थाको सदस्य बन्नेछन् ।
वि.सं.२०७४ असोज २३ सोमवार ११:०९ मा प्रकाशित