back
CTIZAN AD

अनुमति

वि.सं.२०७४ माघ ४ बिहीवार

927 

shares

गन्ट्याङमन्ट्याङ दुःखहरू बच्चासँगै च्यापेर
मसँगै उभिएकी छिन्-
एउटी युवती

म न तिनको आमापट्टिको मान्छे थिएँ
म न तिनको बाबुतिरको आफन्त थिएँ
नजिकका
इष्टमित्र, साथीसङ्गाती
सबैसबैलाई किनारा लगाउँदै
खहरेजस्तै
गडगडाउँदै आएकी थिइन् कुनै दिन
मिसिएकी थिइन्
एउटा नदीसँग अर्को नदी मिसिएसरी
एक-अर्कामा विलीन हुने गरी

एक लर्को पोतेलाई बाँध बनाएर
एक धर्को सिन्दूर
शिष्टताको कुलैकुलो बग्छ
एक किनार उनी
अर्को किनार म भएर
बाँधिएर हिँड्नुको परिभाषा-प्रेम
अर्थात् प्रेमको त्यही परम्परागत बन्धनसँग
बाँधिएका छौँ
भत्कने नै हो भने-
बाँध भत्कन झन् सजिलो हुँदो हो
भत्किएपछिको उन्माद
झन् जोशिलो हुँदो हो

यदाकदा सुक्छौँ
पलाउँछौँ अनि बौरिन्छौँ
यदाकदा गडगडाउँछौँ
धमिलिन्छौँ अनि सङ्लिन्छौँ
सुक्नु, पलाउनु, बौरिनु, गडगडाउनु
अथवा, धमिलिनु र सङ्लिनुको चक्रसँगै
हिँडिरहन्छौँ
यो सहकार्यको यात्रामा
म कति हुँ ?
र, उनी कति हुन् ?
अथवा
उनी धेरै हुन् कि म धेरै हुँ कुन्नि !

मिसिएरै बग्नुपरेपछि
मेरो नाममा बग्नु पनि बग्नु नै हो
उनको नाममा बगेको भए पनि
बग्नु नै हुन्थ्यो
हामीमध्ये कुनै एक धमिलो थियौँ भने
धमिलै बगिरहेका हुन्थ्यौँ
हामीमध्ये कुनै एक सङ्लो थियौँ भने
सङ्ग्लिँदै बगिरहेका हुन्थ्यौँ
जसको नाममा बगे पनि
जिन्दगीको शब्दकोषमा
बग्दै जानु भनेको
सङ्लिँदै जानु पनि हुँदोरहेछ
बग्दै जानु भनेको
फैलिँदै जानु पनि हुँदोरहेछ
सङ्लिँदै छौँ, यसर्थ बग्दै छौँ
बग्दै छौँ, यसर्थ फैलिँदै छौँ

लेउ लागेका सपनाहरू
बच्चासँगै च्यापेर
विमानस्थलको गेटमा
मसँगै उभिएकी छिन्-
एउटी युवती
तिनको
आधीसरो दुःख काखी च्यापेर
आधीसरो अभाव कुम्लो बाँधेर
आधीसरो इच्छा थाती राखेर
म खाडी भासिने तरखरमा छु

यतिबेला
भन्नै सकिरहेको छैन
कसको अनुमतिको खाँचो धेरै छ मलाई
राज्यको ?
कि उनको ?

वि.सं.२०७४ माघ ४ बिहीवार ०२:३६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...

झिल्का कविता

झिल्का कविता

ईश्वर साउद ( भिक्षु ) रामाराेशन - ६ , अछाम...

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

देखियो पक्षपात / ज्येष्ठनागरिकको भावमा

तारा विष्ट छन्दार्पण,दाङ, हाल -मलाय आमाबाबा सबैका जनक र जननी...

कविता : प्रजातन्त्र

कविता : प्रजातन्त्र

कविराज घिमिरे,चाँगुनारायण भक्तपुर प्रजातन्त्र हाम्रो छ साँचो बिगार्ने अरू नाङ्गिँदा...