back
CTIZAN AD

कविता : छोडेर जानेहरु

वि.सं.२०७४ माघ १४ आइतवार

1.1K 

shares

 

हुर्काएका थिए स्वाभिमानको वृक्ष ।

आलुबखडामा चचहुइ खेल्थ्यो बसन्त याम
जूनलाई नुहाएर आकाश चम्काउँथे चराचुरुङ्गी
घाम छेकेर लहरै उड्थे कर्याङकुरुङका बथान
इन्द्रेणीमा तुर्लुङ्ग झुण्डिएर पिङ खेल्थे भुराभुरी
मस्त पोखरीमा नुहाएर तन्नेरी भर्इ निस्कन्थे केटाकेटी ।

एकाएक उनीहरुको धुरीमा खसेर गयो पुच्छ्रेतारा
र, भत्किए उनीहरु ।

उनीहरुले गाउने घण्टीफूलको गीत खसिरहेछ पँधेरामाथि
जुरुक्क अग्लिएर, उनीहरुलाई डाकुँला झैं गर्छ यो मनोहर उपत्यका
उनीहरुसँगै जाउँलाझैं गरी उड्न खोज्छन ढुङ्गामा कुँदेका हलेसोका चित्र ।

जाने बेलामा ढोगेथे, कूलपित्रको आर्शिवादलाई
भाकलको पैतालामा चढाउन पालेथे भाले र बोको
भेटीपाति उठाएर गएका उनीहरु फर्किएनन अझै ।

जाँदै गर्दा

आफ्नै जहानजस्तो राते कुकुर
खोरका सुँगुर र कुखुरा
दाम्लोका गार्इवस्तु
लिएर गए कि छोडेर गए ?

अलिअलि गर्दै च्यातिएका थिए हृदयका पत्र
दुःख्यो भन्न पाए कि पाएनन ?

अमुक शत्रुले कुवामै रेटीमारेको
गाउँका तन्नेरीहरुको काँचो वायु र छायाँ
कुवाको पानीमा डब्डबाउँछ भन्थे
उनीहरुकै हंश कुवाभित्रबाट चिच्च्याउँदै भाग्छ भन्थे
त्यो भूतकुवाको पानी खान नसकेर
तिर्खाले प्याकप्याक गर्दै कुन नदीतटतिर गए ती सेता हाँसहरु ?

बेखबर तिनीहरुका घरजहान
रातबिहान बर्बराउँदै कुद्थे गल्लीगल्ली
आफ्नै आँगनको त्रासदीले, कहाँ लखेट्यो उनीहरुलाई ?

बर्खा झरेर जीउभरिका कपडा च्यातेथ्यो
बाढीमा सोहोरिँदै नाङ्गै गए कि केहि लाउन पाए ?

केराको थाममा खुकुरी गाडेर खोलाको पानीसँगै बगे, भन्थे
दोभानबाट हराएका ती जोडिहरुको वयस्कपन
कसैले भेटे या भेटेनन ?

छानोबाट मझेरीमा तारा झरुञ्जेलसम्म
ढोकामै बसेर रुँदै थिए भोका नानीहरु
रातैभरि भोकै रोइरहे कि खान पाए ?

ढाकरमा पृथ्वी बोक्ने बूढा घामजूनजस्ता बाआमै
अझै छन् कि ढाकर बिसाएर धरतीपारि गए ?

माहुरीको घारजस्तो पुख्र्यौली थलो
बचेरा हुर्किएको गुँडजस्तै टुहुरो देउराली
उनीहरुकै आस्थामा उभिने शितल बर–पिपल
हरिया पात हल्लाउँदै हेरिरहेछन
उनीहरुले भञ्ज्याङ तरेर गएको बाटो ।

आँटमाथि बल्दाबल्दैको दियालो हातमा बोकेर
आफ्नै पाखुरामाथि उभ्याएको घर काँधमा राखेर
खुनले आर्जेको सृष्टि बिधातालाई बुझाएर
उक्काएर आफ्नै पैतालाको छाप
यो सम्पूर्ण बस्तीलाई माया मारेर
विरही तालमा सहनाइ बजाउँदै
कहाँ गए छोडेर जानेहरु ?

 

इति

वि.सं.२०७४ माघ १४ आइतवार ०४:०८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

शम्भु गजुरेल, सिन्धुली १) सम्झाउन साह्रै गाह्रो तर सबैभन्दा त...

कविता : पाँच शब्द

कविता : पाँच शब्द

भुवन शिवाकोटी चौघरे,काठमाडौँ शून्य सबै शून्य छ तिमी विना सबै...

कविता : माया टाढाको जून

कविता : माया टाढाको जून

शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ माया साँच्चै टाढाको जून जस्तै...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...