
आफु जित्दा भन्दा पनि, अरु हार्दा रमाउँछौ
पसिनाको कमाई भन्दा, जुवा मार्दा रमाउँछौ
आखाँसम्म ममताको, प्यार बग्ने बाटो छेक्दै
दाजुभाइको बिछोडमा, बर्खी बार्दा रमाउँछौ
आफ्नो आँगन आफ्नो घर, आफ्नी आमा बेच्नेहरु
पारि भाको जङ्गे पिल्लर, वारि तार्दा रमाउँछौ
पहिचान र स्वाभिमानको, कस्तो हो यो नारा तिम्रो ?
प्लटिङ गर्न सगरमाथा, सबै खार्दा रमाउँछौ
यति टुक्रा टुक्रा पार्यौ, मुटुसम्म टुक्र्याएर
आफ्नो आमावाउको जिउमा, आगो सार्दा रमाउँछौ
इति
वि.सं.२०७४ फागुन १८ शुक्रवार ०५:३१ मा प्रकाशित






























