
‘नेपाल डे परेड’ २०१६ र २०१७ मा आर्थिक अनियमितता गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार लुईसांग वाइबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठ निलम्बनमा परेका छन् ।
महासंघका अध्यक्ष मानबहादुर रानामगरद्वारा जारी प्रेस विज्ञप्ती जारी गरी उनीहरुले ट्याक्स आईडी प्रयोग गरी नेपाल डे परेडका नाममा अमेरिकी डलर ४६७,३८१ डोनेसन उठाएको र त्यो रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि निलम्बन गरिएको जनाइएको छ भने निवर्तमान अध्यक्ष वाईबालाई सल्लाहकार पदबाट समेत वर्खास्त गरिएको उल्लेख छ ।
उनीहरुले संस्था विरुद्ध गतिविधि गरेको र संस्थाले पटक पटक छलफलको लागि पहल गर्दा समेत वास्ता नगरेकाले निलम्बन गरिएको विज्ञप्तीमा जनाइएको छ । महासंघले परेड डे सँग सम्बन्धित व्यक्तिहरु विरुद्ध न्यूयोर्क शहरको मेयर कार्यालयको क्रिमिनल ल अफिस, एटोर्नी जनरल अफिस, पार्क तथा रिक्रिएशन अफिस, ट्याक्स एण्ड फाईनान्स विभाग र क्वीन्स काउन्टी कोर्टमा कम्प्लेन तथा ज्ञापनपत्र पनि बुझाई सकिएको र थप कानुनी प्रक्रिया तुरुन्त अगाडि बढाउने निर्णय गरिएको पनि विज्ञप्तीमा बताइएको छ ।
वि.सं.२०७५ वैशाख १० सोमवार १४:४३ मा प्रकाशित



























