११ असोज,हुम्ला । जिल्ला पशुसेवा कार्यालयको आयोजनामा स्थानीय सरोकारवालसँग पशु उत्पादनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा राजनीतिक दलका जिल्लास्थित प्रतिनिधि, गाविस सचिव तथा कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । सो अवसरमा आव २०७३÷७४ को वार्षिक कार्यक्रमका लागि जिल्लामा भेडाबाख्रा, पशु बस्तु, फलफूल खेतीका लागि रु दुई करोड ४१ लाख ९९ हजार आएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले वार्षिक कार्यक्रम लक्ष्य प्रगति पारदर्शी रुपमा गर्न सो कार्यालयलाई निर्देशन दिनुभयो । कार्यक्रम निमित्त स्थानीय विकास अधिकारी देवी ऐडीको सभापतित्वमा सम्पन्न भएको थियो ।
सार्वजनिक सुनुवाइ
जिल्ला स्वास्थ्य कार्यालयको आव २०७२÷७३ को सामाजिक परीक्षण र वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । एक कायक्रमकाबीच प्रजिअ डा घिमिरेले सो प्रतिवेदन विमोचन गर्नुभयो ।
गत वर्षको रु एक करोड फ्रिज भएको कुरा निमित्त जिल्ला स्वास्थ्य कार्यालयका डा स्मृति महतले सार्वजनिक गर्नुभएको थियो । रासस

