
हेर्यो सबैतर्फ धुलैधुलो छ
विचार बाङ्गो मुख बाटुलो छ ।
गर्छन् चराले पनि बेइमानी
हाम्रो यही सुन्दर राजधानी ।१।
मान्छेहरू गुन्द्रुकझैँ पवित्र
छिरेन त्यो पावनता मभित्र ।
लिनै नमिल्ने उपहारजस्तो
यो जिन्दगी बागबजारजस्तो ।२।
नयाँ लुगा छन् मन पो पुरानो
मान्छे छ अग्ला घरमा बिरानो ।
कतै अँगालो पनि चिस्सिएको
मानौं, खुशीमा विष मिस्सिएको ।३।
सद्भावना वा ममता विराट
जलाउने गर्दछ आर्यघाट ।
गर्छे भुँडीले पनि राजनीति
गाँस्दै समोसासित मात्र प्रीति ।४।
गाडी चल्यो पुष्पक यानजस्तै
हामी रमायौँ हनुमानजस्तै ।
उफ्रेर झुन्डीकन च्यापिएर
यात्रा गर्यौँ नित्य खुशी भएर ।५।
पैसा सधैं भाग्दछ आउँदैन
खल्ती भने कत्ति डराउँदैन ।
हाँसूँ, कराऊ कि खुलेर नाँचूँ
ए काठमाडौं ! कसरी म बाचूँ ?
इति
छन्दः उपजाति
वि.सं.२०७५ वैशाख २५ मंगलवार १०:२९ मा प्रकाशित






























