१ कात्तिक,ललितपुर । दसैँका समयमा समेत बुङ्गमतीकी शरणमाया महर्जन व्यस्त देखिन्थिन् । खोकनास्थित योमरी क्याफेमा कार्यरत उनी दसैँका समयमा समेत मःम पकाउँदै गरेको भेटिइन् ।
गाउँमा नै रोजगारी भएपछि भात–भान्सासमेत भ्याएर काम गर्न सकिएको शरणमायाले सुनाइन् । उनले भनिन्, “यहाँ बिहानैदेखि दिउँसो २ बजेसम्म काम गर्छु, त्यसपछि घरको काम गर्न भ्याउँछु ।” आफूले आम्दानी गर्न थालेपछि परिवार चलाउन सहज भएको उनले बताइन् । १५ वर्षपहिले सुरु भएको खोकना महिला जागरण समूहले केही वर्षयता आयमूलक कामको तालिम सुरु गरेको छ ।
तालिम लिएका तीनै महिला अहिले कोही रोजगार त कोही स्वरोजगार बन्न थालेका छन् । कतिपय समूहले सञ्चालित क्याफेमा रोजगारी गर्छन् भने कतिपय महिला आफैँले क्याफे सञ्चालन गरिरहेका छन् । कतिपय महिला सिलाइ, बुनाइ, सारीमा बुटृा भर्ने लगायतका काम गरेर पनि राम्रो आम्दानी गरिरहेका छन् ।
समूहले सञ्चालन गरेको क्याफेमा अहिले स्थानीयवासी २२ महिला कार्यरत छन् । मासिक करिब तीन÷चार लाख मासिक आम्दानी रहेको छ । सवास नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले समूहलाई सहयोग गर्दै आएको छ । समूहले बर्सेनि बेकरी लगायतको तालिम दिइरहेको छ । तालिम लिन र समूहद्वारा सञ्चालित क्याफेमा काम गर्न धेरैले इच्छा देखाउने गरेको अध्यक्ष अप्सरा डङ्गोलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यही मागलाई हेरेर हामी अर्काे ठाउँमा पनि क्याफे चलाउन सकिन्छ कि भनेर हेरिरहेका छौँ ।” क्याफेमा ग्राहकसँग बोल्दा र विभिन्न ठाउँमा स्टलमा बोल्दा कार्यरत महिलामा आत्मविश्वास पनि बढेको उहाँले बताउनुभयो । खोकनामा पहिले परिवार नियोजन क्लिनिक सुरु हुँदा महिलासँग दर्ता शुल्क तिर्नसमेत पैसा नभए पछि समूहको सुरुवात भएको हो ।
नेपाल परिवार नियोजन सङ्घले पहिले अस्थायी साधन वितरणको क्लिनिक सञ्चालन गरेको थियो । त्यो क्लिनिक पछि स्थानीयवासीलाई हस्तान्तरण ग¥यो । सेवा लिन खोजे पनि महिलामा दर्ता गर्नसमेत आर्थिक अभाव भएको डङ्गोलले बताउनुभयो । अहिले समूहले मासिक एक सय रुपैयाँ बचतसमेत लिँदै आएको छ । पाँच सयजना महिला समूहमा आबद्ध छन् । उहाँले भन्नुभयो, “झन्डै एक सयजना दिदी–बहिनी यहीँबाट तालिम लिएर स्वरोजगार समेत भएका छन् ।”
क्याफेमा कार्यरत महिलाको दक्षताका आधारमा तलब निर्धारण भएको छ । क, ख, ग र घ गरेर चार प्रकारमा कार्यरतलाई विभाजन गरिएको छ । ‘क’ ले दैनिक रु तीन सय ५० र ‘घ’ वर्गका महिलाले दैनिक एक सय ५० रुपैयाँ दैनिक पाउने गर्छन् । उहाँले भन्नुभयो, “काम गर्दै जाँदा उहाँहरुको दक्षता बढिरहेको छ ।”रासस
वि.सं.२०७३ कात्तिक १ सोमवार ११:१५ मा प्रकाशित