१२ असोज, काठमाडौँ । ३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् ।
बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको थियो । महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो ।
निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।
त्यस्तै सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी गत भदौ २९ गते रिहा भएका थिए । एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखाका प्रमुख थिए ।
यस्तै सुन प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पनि एसएसपी लोहनी रिहा भएको दुई दिनमै रिहा भएका थिए । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । डिएसपी केसीले थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । केसी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखामा कार्यरत थिए । ३३ किलो सुन प्रकरणमा प्रहरीकै उच्च अधिकारीको संलग्नता रहेको भन्दै अनुसन्धान गरेको थियो । तर घटना घटेको ६ महिना बित्दा समेत हराएको भनिएको ३३ केजी सुन अझै फेला परेको छैन् ।
वि.सं.२०७५ असोज १२ शुक्रवार ०७:३१ मा प्रकाशित