सकेसम्म नकारात्मक कुरा नगरुं भन्ने मन थियो तर आज मन मानेन् । मीत्रहरुसंग माफी माग्दै यति कुरा भन्नै मन लाग्यो ।
देश बिग्रियो भनेर अरुलाई दोष दिन्छौं तर हामी सबै जना आ आफ्नो स्थानमा दोषी छौं ।
शिक्षकहरु नपढाइकन वा झारा टार्ने तरीकाले पढाएर तलब पकाउंछौ । विद्यार्थीहरु पनि सकेसम्म कम पढ्न पाए खुशी हुन्छन् । परीक्षामा कलम टोकेर बस्छन् तर रिजल्ट राम्रो आएन भनेर झगडा गर्छन् । ब्यापारीलाई रातारात नाफा चाहिएको छ, मिसावट गरेर वा नक्कली सामानलाई सक्कली भनेर ग्राहकबाट चर्को मूल्य असुल्छन् । कर्मचारीहरु काम गर्न चाहन्नन् वा काम गरेमा अतिरिक्त भत्ताको आशा गर्छन् वा ग्राहकसँग नजराना असुल्छन् ।
राष्ट्रसेवकको बिल्ला लगाएर राष्ट्रघात गर्छन् । भगवानका दूत मानिने डाक्टरहरु पैसामा मोलमोलाई गर्दै बिरामीलाई दुहुनो भैंसी सरह व्यवहार गर्छन्, मानवता, उत्तरदायित्व र जिम्मेवारीपन बिक्री भइसकेको छ केवल बाँकी छ त पैसा, पैसा, पैसा ।
किसान भनेको सच्चा साथी हो भनिन्छ । उसैले अनाज उत्पादन गरेर सबैलाई बचाउँछ । तर, आजकल अनाजमा विषादीको चरम प्रयोग गरेर खानेकुरा भन्दै बिष बेचिरहेका छन् किसानहरु । चालकको हातमा सयौं यात्र्ुहरुको भविष्य छ, तर चालकको चरम लापरवाहीका कारण बर्सेनी हजारौं यात्रुहरुको अकालमा मृत्यु भइरहेको छ सवारी दुर्घटनाका कारण । नक्कली चालकलाई सक्कली सावरी चालक प्रमाणपत्र दिएर मृत्यु बेचिरहेको सरकारी अड्डा, अनि गोहीको आँसु उनीहरुनै झार्छन् ।
मौका पर्नासाथ सबैजना स्वार्थी भएका छौं । यो कसरी भयो, समाजलाई दोषी देख्नेले आफूलाई दोषी कहिल्यै देख्दैन । नेताहरु जनताको भोटले जित्छन् तर शासन गर्ने बेला दलाल र तस्करको सेवा गर्छन् । बिदेशीको अगाडि लम्पसार पर्छन् । राष्ट्रवादका गफ दिन्छन् । देशका महत्वपूर्ण पदहरु कि त रगतको नातालाई दाइजो दिन्छन् कि त पैसामा बिक्री गर्ने गरिन्छ ।
विद्धान भनाउँदाहरु नेताहरुसामू लम्पसार पर्दछन् । उनीहरु आश र त्रासका कारण सत्यकुरा भन्न डराउँछन । पत्रकार पनि समाचार लुकाएर चाकडीको भाषा मात्रै प्रयोेग गर्दछ र दुनियांलाई गुमराहमा राख्दछ । न्यायालय त पूरै बिक्री केन्द्र भएको छ, पैसा दिए पछि ठूला ठूला अपराधीले पनि सफाई पाउँछन् । तर, इमान्दार मानिसहरु जेलमा कुहिएर बस्न बाध्य छन् ।
गद्दारहरु नायक बनेका छन् । इमान्दारहरु कि त सहिद बनेका छन् कि त समाजको काम नलाग्ने लफंगा जस्तो बनाइएका छन् । जो रक्षक छ, उही पैसामा बिकेर मान्छे मारिरहेको छ । मान्छेमा विवेक हराएर दानव बनिरहेको छ । नृशंश जनावरको दर्जामा पुगिसकेको छ । स्कूल र विश्वविद्यालयमा सच्चाईको अध्ययन र अध्यापन हुन छोडेको धेरै भइसक्यो । यी सब पैसा कमाउने क्यासिनो बनिसकेका छन् ।
इमान्दारिता, देशभक्ति, सच्चरित्र भन्ने शब्दहरु हराइसके । हे “भगवान” के होला अबको बाटो ? कसरि मुक्त होला यो मानव ?
वि.सं.२०७५ असोज १३ शनिवार ०८:५५ मा प्रकाशित