
गैरआवासीय नेपाली संघ(एनआरएनए) ले सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण गरेको छ ।
विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिकावीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार उक्त गुरुयोजना कात्तिक ७ गते हस्तान्तरण गरिएको थियो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले एक समारोहवीच कमलामाई नगरपालिकाका मेयर श्री खड्ग बहादुरा खत्रीलाई हस्तान्तरण गरेका थिए ।
गुरुयोजना सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो । गुरुयोजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनस्र्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ ।
गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतीले गरेका हुन् ।

कमलामाईका नगर प्रमुखले गुरुयोजना तयार पार्न सहयोग गरेकोमा गैरआवासीय नेपाल संघ प्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघ वीच समन्वय र सहयोग भईरहनु पर्ने र गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राखेका थिए । यसरी नै सिन्धुली जिल्लाका सहभागी प्रतिनिधिहरुले सिन्धुगढीलाई नेपालको नमूना पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सहयोग गर्न अपिल गरे ।
संघका अध्यक्ष भवन भट्टले गुरुयोजना तयार गर्न सहयोग गर्न पाएकोमा कमलामाई नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दै सिन्धुली गढीलाई एक पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताए । उनले गुरुयोजना तयार पार्ने कार्य गर्न आर्किटाइप र कार्डकन्स्ल्ट्याण्ट र यस कामको नेतृत्व गर्ने संघका सचिव डिबि क्षेत्रीलाई धन्यवाद प्रकट गरे । साथै सिन्धुलीगढी परियोजनामा आर्थिक सहयोग गर्ने महानुभावहरुलाई कमलामाई नगरपालिकाका मेयरले प्रशंसापत्र वितरण गरेका थिए ।
यसरी नै संघका सचिव तथा सिन्धुली गढी परियोजना कार्यदलका संयोजक डिबि क्षेत्रीले यस गुरुयोजना तयार गर्न आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गरेका थिए ।
साथै कमलामाई नगरपालिका, सिन्धुली जिल्लाका जनप्रतिनिधिहरु, विभन्न राजनैतिक दलहरु, स्थानिय बासिन्दा, गुरुयोजना तयार पार्ने आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्ट, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपालीहरु, र संचारकर्मीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष कूल आचार्यले गैरआवासीय नेपाली संघले नेपालको प्रबर्धनको लागि सहयोग गर्दै आएको बताए । । उनले सिन्धुली गढीलाई नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि देखाईएको दुढ संकल्प तथा उत्साह प्रति कमलामाईका मेयरलाई आभार प्रकट गरे । उनले सहभागी सिंधुली जिल्लाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका पदाधिकारी तथा सदस्यहरु, एनसिसिका प्रतिनिधिहरु र संचारकर्मीहरु सबैलाई धन्यवाद प्रकट गर्नुका साथै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।
यस कार्यक्रममा कमलामाइ नगरपालिकाका मेयरका साथै सिन्धुली जिल्लाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कूल आचार्य र सपीला राजभण्डारी, महासचिव डा. बद्रि केसी, सचिव डिबि क्षेत्री सल्लाहकार रामेश्वर शाह, महिला संयोजक रजनी प्रधान, युरोपका क्षेत्रीय उपसंयोजक गोविन्द प्रसाद गौंतम, आइसिसि सदस्य द्वय विनोद भट्टराइ र मनोज गोर्खाली, मानार्थ परिषाद सदस्य सुवास अधिकारी, सिन्धुलीगढी परियोजना कार्यदलका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ११:१७ मा प्रकाशित






























