
१० कात्तिक, अम्मान । जोर्डनमा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकाँश विद्यालयका छात्रछात्रा रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
स्थानीय एक पत्रिकाले यस घटनालाई दुःखान्त घटनाको संज्ञा दिएको समाचारमा जनाइएको छ ।
घटनामा परी अरू ३५ जना घाइते भएका छन् । बिहीबार परेकोे अत्यधिक वर्षाका कारण जोर्डनमा बाढी आएको हो ।
घटनामा परेकालाई खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरूलगायत विभिन्न निकायका उद्धारकर्ता तथा सहयोगीहरू घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा अहिले पनि सुरक्षाकर्मीहरूले हराइरहेका आठ जनाको खोजी गरिरहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
पश्चिमी अम्मानदेखि झण्डै ५० किलोमिटर टाढा पर्ने सो घटनास्थल पर्यटनका लागि लोकप्रिय क्षेत्र मानिन्छ ।
मृत्यु भएकामध्ये अधिकाँश ११ देखि १४ वर्षका रहेका थिए । उनीहरू विद्यालयबाट भ्रमणका लागि त्यसतर्फ गएका थिए । विद्यार्थी बोकेको बस बाढीले बगाएको थियो ।
यति ठूलो सङ्ख्यामा आफ्ना नागरिकको निधन भएपछि जोर्डनका राजा अब्दुल्लाह द्वितीयले बहराइनको भ्रमण स्थगित गरेका छन् ।
वि.सं.२०७५ कात्तिक १० शनिवार १२:१२ मा प्रकाशित





























