back

खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०७५ पुस २४ मंगलवार

354 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । खड्कासहितलाई रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

निगमको पूर्वकार्यकारी निर्देशक खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा उजुरी परेपछि उहाँको सार्वजनिक सेवा प्रवेश गरेपश्चात्को समग्र आय र व्ययको विश्लेषण गरेको थियो ।

आयोगका अनुसार २०६९ साल चैत २ गतेदेखि अनुसन्धान अवधिसम्ममा खड्काले पारिश्रमिकबाट जम्मा रु ४० लाख ५७ हजार १५५ आम्दानी गर्नुभएको थियो । यस्तै ४७ जग्गा बिक्रीबाट रु ५८ लाख ७५ हजार, ऋण सापटीबाट जम्मा रु पाँच करोड ३३ लाख ३६ हजार र घर भाडाबाट रु १३ लाख ५६ हजार आम्दानी भएको देखिन्छ ।

यस्तै नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु २९ लाख २२ हजार ६९८, पेन्सनबाट रु १४ लाख ७८ हजार ४८२, विप्रेषण आयबाट रु आठ लाख २६ हजार ९१३, सवारी बिक्रीबाट रु ३५ लाख, छोराबुहारीको पारिश्रमिकबाट रु ११ लाख चार हजार तीन गरी कूल रु सात करोड ४४ लाख ५६ हजार २५२ मात्रै रहेको छ ।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्ममा देखिएको विभिन्न शीर्षकको आय रु एक करोड २० लाख १३ हजार ४९९ समेत गरी रु आठ करोड ६४ लाख ६९ हजार ७५१ आयआर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुसन्धान अवधिसम्ममा खड्काले पुख्र्यौली घरबाहेक नै तीन वटा घर निर्माण तथा खरीद गरेको दुई वटा घर खरीदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको पाइएको छ ।

यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरीद गरेको देखिएको छ । घरजग्गा खरीदमा रु ११ करोड ६१ लाख ४३ हजार २०६, विभिन्न कम्पनीको शेयर खरीदमा रु एक करोड छ लाख चार हजार, ऋणको साँवा ब्याज भुक्तानीमा रु चार करोड २२ लाख ९६ हजार २३९, व्यक्तिगत रूपमा दिएको सापटी रु एक करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु एक करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु २५ लाख १४ हजार ६९५ रहेको छ ।

यस्तै गाडी खरीदमा रु एक करोड १७ लाख ४२ हजार, विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटमा खर्च गरिएको समेतका रकम रु एक करोड ८० लाख १६ हजार ४४६ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु दुई करोड ७१ लाख ५३ हजार ४२१ समेत गरी जम्मा रु २५ करोड पाँच लाख नौ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्म विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु दुई करोड दुई लाख ७० हजार ३७१ समेत गरी रु २७ करोड ३० लाख ७५ हजार ३८० खर्च तथा लगानी गरेको देखिएको छ । उक्त लगानीमा खड्काको स्रोत खुलेको आय रु आठ करोड ६४ लाख ६९ हजार ७५१ घटाउँदा देखिन आउने रु १८ करोड ६६ लाख पाँच हजार ६२९ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नसकेको आयोगको ठहर छ ।

आयोगले स्रोत नखुलेको उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको अभियोग लगाएको छ । आयोगले स्रोत नखुलेको रकम नै बिगो कायम गरी हदैसम्मको कारवाहीको माग गरेको छ । आयोगले अमिता लामा सोदेम्बाको नाममा रु सात करोड ५४ लाख ५७ हजार ८७५ सम्पत्ति लुकाइराखेको दाबी गरेको छ । काठमाडौँको साबिक महाङ्काल–४ स्थित कित्ता नं १९१ मा सिज डेभलपर्सले निर्माण गरेको सिजी हिल्स हात्तीगौँडामा रु तीन करोड २५ लाखमा खरीद गरेको घर लुकाएको आयोगको दाबी छ ।

यस्तै साबिक बिष्णु बूढानीलकण्ठ–३ कित्ता नं ६८९, १४८२ र १५२० को मूल्य रु ४० लाख ११ हजार ८७५ खरीद गरेको आठ आना जग्गा र रु ८४ लाख ४६ हजारमा खरीद गरेको बा१६च ८४८४ नंको टक्सन गाडी । काठमाडौँको साबिक महाङ्काल–४ स्थित कित्ता नं ३५० मा रहेको सिजी डेभलपर्सले निर्माण गरेको घर नं २२ खरीद गर्नका लागि भुक्तानी गरेको रु तीन करोड पाँच लाख र अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगले काठमाडौँको साबिक विष्णु बूढानीलकण्ठ गाविस–७ मा रोडशो रियलस्टेटले निर्माण गरेको घर खरीद गर्न भनी बैनास्वरूप पठाएको रु ८९ लाख ८९ हजार रकम बराबरको चेक जफत गरेको छ । सो चेक आयोगले अदालतमा दशीका रूपमा पेश गरेको प्रवक्ता दङ्गालले जानकारी दिए ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०८:४० मा प्रकाशित

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...