
युरोप अमेरिका कुनै जादु, मन्तर, टुना गरेर बनाइएको होइन । न त उनीहरूको भगवान जिसस क्राइस्ट, मदर मेरीहरू ले नै हो । स्वयम् यी खैरेहरू र खैरेनीहरूले नै बडो मेहनतका साथ बनाएका हुन् । कुनै शक्ति अथवा अदृश्य शक्तिले बनाएको होइन । हाम्रो देशको सचेत, बुद्धिजीवी र शिक्षित अनुभवी नागरिकहरूले यो कुरा राम्रोसँग बुझेका छन् । त्यसैले हामीले नबनाई हाम्रो देश बन्दैन् भन्ने सबैले सोचौं । मातृभूमिको सेवामा जसले जहाँबाट हुन्छ त्यहाँबाट जति सकिन्छ सहयोग गरौं ।
कुरा नर्वेको हो । नेपालमा पटक–पटक घुम्न आएका श्री व्यारोन(Mr Byorn ) ले, ‘तिम्रो देश नेपाल, मेरो लागि मेरो दोस्रो मातृभूमि हो’ भनेपछि मैले उनलाई किन ? भनेर प्रश्न गरेको थिएँ । घडी त मैले हेरिन तर आधा घण्टा भन्दा ज्यादै समय लिएर उसले हाम्रो देश नेपालको बारेमा बर्णन गरेका थिए । उनले गरेको वर्णनमा मुख्य कुरा, जो मेरो मानसपटलमा अहिले पनि झल्झली आइरहन्छ ।
उनले भनेका थिए–हाम्रो देश नर्वेमा त्यस्तो मनमोहक (Breathtaking Panorama ) दृश्यले भरिएको गाउँहरू देख्न नै पाइदैन । तिमीले देख्यौँ…? यहाँ त मात्र सेतो हिउँको खातै खात र जाडो मात्र छ… मानिस बस्नै गाह्रो । तर तिम्रो देश नेपाल…अहो न जाडो, न गर्मी प्राकृतिक दृश्यले सजिएका ति गाउँहरू बिचो–बीच पैदल हिड्न कति आनन्द । ति गाउँका मानिसहरू कति सहयोगी र राम्रो व्यवहार गर्छन् । म त भन्छु, ‘गाउँ नै गाउँको देश नेपाल जो मेरो दोस्रो मातृभूमि हो । तर, एउटा कुरामा भने मलाई दुःख लाग्यो कि, यति धेरै हिमाल भएको देशमा पनि पिउने पानीको भने समस्या !’ मेरो १५ महिनाको नर्वे बसाईमा नर्वेली मित्रहरूले समय मिल्नासाथ नेपालको गुणगान गाउन सुरु गरिहाल्थे ।
गाउँ नै गाउँको देश हाम्रो नेपालमा, ती विदेशी पर्यटकहरूले भनेजस्तो राम्रो व्यवहार गर्ने र सहयोगी भावना भएका ती नेपाली गाउँहरू अब छैनन् । खाली–खाली सुनसान छन् । ती रमाइलो गाउँहरू अब झारपात भरिएर खण्डहर भैसकेका छन् । कुनैबेला पर्यटकहरूको घुँइचो लाग्ने ती सुन्दर रमाइला गाउँहरूमा अब नाम मात्रको कच्ची मोटर बाटोहरूमा परिणत भएका छन् । जहाँ दिनानुदिन मोटर गाडी पल्टेर मानिसको ज्यान गएको समाचार आइरहन्छ । अरु को त के कुरा गरौँ, पोखरा महानगरपालिका भित्रै पर्यटकीय नगरदेखि मात्र ३–४ किलोमीटरको दूरीमा अवस्थित भलाम गाउँमा समेत राम्रो मोटर गाडी जाने अवस्था छैन । जहाँ अझै पनि कच्ची मोटरबाटो नै प्रयोग भएको देखिन्छ । त्यो पनि गाउँकै वर्तमान अध्यक्ष क्याप्टेन चोकबहादुर गुरुङको अध्यक्षतामा सबै गाउँबासीहरूको सक्रियतामा बनाइएको थियो ।
वर्तमान प्रदेश सरकारलाई थाह नै छैन होला, यस्तो अवस्थामा सदरमुकामदेखि दूरदराजका ती गाउँहरूको अवस्था अति नै नाजुक छ भनेर । यतिबेला स्थानीय तथा प्रदेश सरकारले आफ्ना काम थालिसकेका छन् । पोखरा महानगरपालिकाको वरिपरि रहेका ती रमाइला तथा पर्यटकीय गाउँहरूको लागि व्यापक मात्रामा बजेट छुट्याएर यी गाउँहरूको मौलिक पहिचान जोगाउँदै आधुनिक निर्माणको आवश्यकता रहेको छ । नत्र भने गाउँ–घरले अहिलेको अवस्था भन्दा पनि अझै विकराल रुप लिनेछ भन्ने मलाई लागेको छ ।
एकबेला ‘आफ्नो गाउँ आफै बनाऊ’ भन्ने नारा आएको थियो । जुन असम्भव थियो ! गाउँ घर बनाउने, शहर बनाउने, बाटो, पुल अनि बिजुली पानीको व्यवस्था मिलाउने, घर आवासको बन्दोबस्त इत्यादी कुरा ति गाउँका बासिन्दाले गर्ने सम्भव थिएन र अझै पनि छैन । यो त देश चलाउने सरकारको काम हो । यसमा स्थानीयको सहयोग र सद्भाव मात्र हुन्छ भन्ने लाग्छ ।
सरकारले तदारुकता देखाउनु पर्ने अवस्थामा हाम्रो देशमा बाध्य भएर जनताले नै आ–आफ्नो क्षेत्रमा येन–तेन भूमिका निर्वाह गरिरहेका छन् । तर, दूरदराजका गाउँघरमा भने स्थिति एकदमै विकराल बनेका छन् । त्यसैले पनि गाउँबासीहरू गाउँ नै छोडेर सहर पलायन भएको अवस्था छ ।
एकपटक पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आफू प्रधानमन्त्री हुँदा आफ्नो शासन अवधिमा राजधानी काठमाडौँको घेरादेखि बाहिर टाढा–टाढा त्यो गाउँ बस्तिहरूलाई पहिला प्राथमिकता दिनेछु भनेका थिए । काठमाडौँको खुल्ला मञ्चबाट भाषण गर्दै स्वर्गीय मदन भण्डारी, मन मोहन अधिकारी र अन्य कम्युनिस्ट नेताहरूले भन्ने गर्थे ‘राजधानीदेखि बाहिर दूरदराज त्यो दुर्गम गाउँघरहरूको प्रगति र उन्नती अनि परिबर्तन तब मात्रै सम्भव छ, जब नेपालमा कम्युनिस्ट पार्टीको हातमा साशन सत्ता आउने छ, राजतन्त्रलाई फालिने छ अनि मात्र यो देशमा आमुल परिबर्तन आउने छ’ उनीहरूका यस्ता भाषणले खुल्ला मंच र टुडिखेलमा परर तालि सहित र दर्शकको मुहारमा मुस्कान छाउथ्यो । अझै पनि मेरो कानमा ती कुराहरू गुन्जिरहेको छ ।
त्यतिखेर म आफ्नो देश छोडेर अब कहि जान्न भनेर भर्खर भारतबाट फर्केको थिए । भाषामा त्यति स्पष्ट नदोहोरिएकोले मलाई यी नेताहरूको भाषण सुन्नेमा धेरै चासो थियो । त्यसैले पनि अफिसबाट एकघण्टा पहिले नै निस्किएर टुडिखेल पुगेको थिए । त्यहाँ मदन भण्डारी र मनमोहन अधिकारीले भाषण गर्न थालेपछि मैदानमा मान्छे अटाउथेनन् । नेपालको दुःख, गरिवी, कुशासन, जताततै लथालिङ्गको अवस्था देख्दा उनीहरूको कुरा सोह्रै आना ठिक हो भन्ने लाग्दथ्यो । तर, उनीहरू मरेर गए । देशमा कम्युनिस्ट पार्टीको एकलौटी सरकार छ । सत्ता आफ्नो हातमा छ । नेताहरूले राजतन्त्र फाल्नुपर्छ भनेर गरेको भाषण अहिले सत्य भइसक्यो । राजसंस्था पनि गइसक्यो । शासन सत्ता जनताका अभिभावक हौं भन्ने कम्युनिस्टहरूको हातमा आइसक्यो । जहाँसम्म अब परिवर्तनका लागि कुनै कुरा बाँकी छ जस्तो लाग्दैन् । तर, पनि परिवर्तनले जनताको मन छुन सकेन् । गाउँको विकास, जनताको गाँस, बास कपासका समस्या अझैपनि यथावत रहेको छ । विदेशीहरूले भनेजस्तै ती सुन्दर गाउँहरूको अवस्था अहिले कस्तो छ भन्ने सत्य कसैबाट पनि लुकेको छैन ।
चार जात छत्तिस वर्णको साझा फुलबारी हाम्रो सुन्दर देश नेपाल, १ सय २५ भाषा र भाषी तथा १ सय २३ जात जातिले सजिएर बनेको नेपालरुपी फूलवारी, प्रकृतिको धनी देश कुनै चिजको कमि छैन नेपालमा । तर, दुःखको कुरा जति नै राम्रो भएपनि विश्व मानचित्रबाट देशको नाम अशिक्षित अनि गरिबीको देश भनेर नाम हट्नसकेको छैन ।
सचेत, बुद्धिजीवीहरू र देश हाँक्नेहरूको लागि यो ठूलो चुनौतीको बिषय पनि हो । सचेत बुद्धिजीवीहरूले सरकारलाई घच्घच्याउनु जरुरी छ । हामी चुप लागेर बस्नु हुँदैन । सबैभन्दा पहिले पक्कि बाटो पुलहरूको निर्माण थाल्नु पर्छ । सदरमुकाम वरिपरिका गाउँहरूबाट यसको सुरुवात गरेर देशको कुना–कुनामा पुलहरूको निर्माण गर्नुपर्दछ । अहिलेको जस्तो यो नाम मात्रकै लागि निर्वाहमुखी बाटो बनाएर कुनै अर्थ छैन । यसरी देशको कुना काप्चासम्म सजिलैसँग यातायातको सुबिधा र मानिसहरूको आवत–जावतमा सहज हुन साथ अरु विकासका ढोकाहरू खुल्ने छन् । तर, हाम्रो देशको बिडम्बना नै भनौँ, शहर बजारका बाटोहरू र त्यहाँ देखिएको खाल्डा–खुल्डी, हिलो, धुलाम्मे फोहोरमैलाले बारम्बार चर्चा पाइरहेका छन् ।
अर्को बिडम्बना भनेको त्यहाँ पुस्तौदेखि बस्दै आइरहेका स्थानीयहरूले पनि आफ्नो पुर्खौली थलो अथवा आफू जन्मेको हुर्केको गाउँ घरलाई सुधार्ने र उन्नती गर्ने तिर लागेनन् । भारतीय, सिंगापुरे र बेलायती आर्मीमा लाहुरे भएर प्रशस्त धन सम्पत्ति कमाएका कयाँै करोडपति लाहुरेहरू सबैजसो ती दूरदराज गाउँ घरहरूमा जन्मेका हुर्केकाहरू नै हुन् । उनीहरूले एक आपसमा छलफल गरेर आफ्नो गाउँघरको सुधारको निम्ति कदम चालेको भए ती गाउँहरूको विकास र उन्नतीमा ठूलो परिवर्तन आउने निश्चित थियो । तर, उनीहरूले आफ्नो गाउँघरमा कुनै चासो नै देखाएनन् । दुर्भाग्य नै भनाँै, उनीहरूले सम्बन्धित देशमा नै काम अथवा सेवा गरे ।
प्रशस्त धन दौलत कमाए अनि उतै नै आफ्नो घरजम गरेर बसेको पनि अवस्था छ भने केहीले धन दौलत कमाएर आफ्नै देशमा तफर्के तर आफ्नो जन्मथलो गाउँघर भन्दा सहरनै उनीहरूको रोजाइमा प¥यो । यसरी हाम्रो पुर्खा, जिजु बाजेहरूको थलो र आफ्नो जन्मभूमि अनि ती सुन्दर गाउँहरू रित्तिदै गयो । देश चलाउछु भन्नेहरूले पनि त्यतातिर त्यति ध्यान दिएनन् ।
२१ औं शताब्दिको आजको आधुनिक युगमा पनि विभिन्न कारणले हाम्रो अधिकांस जनशक्ति बसोबास गर्ने हाम्रो रमाइला गाउँ घरहरूको बर्णन यसरी दुःखसँग लेख्नु पर्दा मन आत्तिन्छ । आखिरी देश विदेशका अर्थात् युरोप अमेरिकाका यी विश्व लाई आकर्षित, गर्ने देश, संसारले नै वाह..वाह… गर्ने देश कसरी र कसले बनायो यस्तो ? तर, आज तपाई हामीले देखिरहेका छौं, सुनिरहेका छौं, युरोप अमेरिका आउनलाई विभिन्न माध्यम मार्फत कोही दलाललाई लाखौ रुपैयाँ तिरेर, कोही माफियाबाट, त कोही नक्कली कागजात बनाएर त कोही नेपाल घुम्न आउने खैरेलाई जी हजुर गरेर विदेशतिरै आफ्नो उज्ज्वल भबिष्य बनाउने दाउमा छन् ।
युरोप अमेरिका कुनै जादु, मन्तर, टुना गरेर बनाइएको होइन । न त उनीहरूको भगवान जिसस क्राइस्ट, मदर मेरीहरू ले नै हो । स्वयम् यी खैरेहरू र खैरेनीहरूले नै बडो मेहनतका साथ बनाएका हुन् । कुनै शक्ति अथवा अदृश्य शक्तिले बनाएको होइन । हाम्रो देशको सचेत, बुद्धिजीवी र शिक्षीत अनुभवि नागरिकहरूले यो कुरा राम्रोसँग बुझेका छन् । त्यसैले हामीले नबनाई हाम्रो देश बन्दैन् भन्ने सबैले सोचौं । मातृभूमिको सेवामा जसले जहाँबाट हुन्छ त्यहाँबाट जति सकिन्छ सहयोग गरौं, त्यो नौतिक, बौद्धिक, भौतिक या आर्थिक सहयोग नै किन नहोस् । हाल स्पेन