जे जति प्रचार भैरहेको छ, त्यो दुबै देशका शासक वर्गले आफ्ना देशका जनतालाई झुक्याउन र भ्रममा राखेर शोषण अत्याचारपूर्ण व्यवस्था कायम राख्न गरिएको प्रचार युद्ध मात्र हो ।
फागुन १४ गते भारतका लडाकू विमानहरुले पाकिस्तानमा गएर वम आक्रमण गरेपछि भारत र पाकिस्तानका विच ठुलो युद्ध होला कि भन्ने चिन्ता छाएको छ । तर युद्ध विज्ञान तथा राजनीतिको ऐतिहासिक वस्तुगत आधारलाई विश्लेषण गर्ने हो भने यी दुई देशहरुका विच ठुलो युद्ध तत्काल भैहाल्ने सम्भावना देखिन्न ।
जे जति प्रचार भैरहेको छ, त्यो दुबै देशका शासक वर्गले आफ्ना देशका जनतालाई झुक्याउन र भ्रममा राखेर शोषण अत्याचारपूर्ण व्यवस्था कायम राख्न गरिएको प्रचार युद्ध मात्र हो ।
यसका लागि पहिला युद्ध के हो भन्ने वुझ्नु पर्दछ । युद्ध भनेको आफुलाई वचाउनु र अर्को पक्षलाई समाप्त पार्नु वा पराजित गर्नु हो । युद्धमा आक्रमण र प्रतिरक्षा दुबै पक्ष आधारभूत कुरा हो । आक्रमण मात्रले पनि युद्ध जितिन्न, प्रतिरक्षा मात्रले पनि युद्ध जितिन्न ।
आक्रमण र प्रतिरक्षा दुबैका लागि युद्धमा अनेकौं हतियार विकास गरिएको हुन्छ । मानव इतिहासमा प्राचिनकाल देखिको हतियारलाइ हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ । शुरुमा विकास गरिएको ढाल र तरवारमा तरवारले आक्रमण गर्ने र ढालले शत्रु पक्षको आक्रमण छेकेर प्रतिरक्षा गर्ने गरिन्थ्यो । वन्दुक र बुलेट प्रुफ गाडि तथा ज्याकेटको विकास पनि आक्रमण र प्रतिरक्षाको सिद्धान्त अनुसार नै भएको छ । बम र बंकरको विकास पनि आक्रमण र प्रतिरक्षाको दोहोरो नियम अनुसार भएको छ । टैंक आक्रमण र प्रतिरक्षाको संयुक्त स्वरुप हो ।
लडाकू विमान र एन्टी एअरक्राफ्ट गन पनि आक्रमण र प्रतिरक्षाको सिद्धान्त अनुसार विकास भएको छ ।
यी हतियारहरु विकास भएको अवधी सम्म विश्वमा ठुल्ठुला युद्धहरु भए । पहिलो र दोश्रो विश्व युद्ध यहि अवधीमा भयो, जसमा करोडौं मानिसहरुको हत्या भयो ।
तर जब विश्वमा क्षेप्यास्त्र र आणविक हतियारको विकास भयो, तब देखि विश्वमा यी हतियार भएका देशहरु विच प्रत्यक्ष रुपमा ठुलो युद्ध भएको छैन । किनभने आणविक हतियारको प्रतिरक्षा गर्ने हतियारको विकास अहिले सम्म भएको छैन ।
आणविक हतियारको विकास भएपछि आणविक हतियार भएको र नभएको देशका विच ठुलो युद्ध भएको त छ, तर आणविक हतियार भएका दुई देश विच प्रत्यक्ष युद्ध ठुलो रुपमा भएको छैन । दुबै देशले एक अर्का विरुद्ध आणविक हतियार प्रयोग गरेमा दुबै देश पराजित हुने अर्थात दुबै देश ध्वस्त हुने हुँदा आणविक हतियार भएका दुई देश विच ठुलो युद्ध नभएको हो ।
भारत र पाकिस्तान दुबै संग आणविक हतियार छ । यी देशविच ठुलो युद्ध भएमा एकले अर्को विरुद्ध दुबैले आणविक हतियार प्रयोग गर्ने अवस्था आउने र दुबै देशको विनास हुन सक्ने भएकोले भारत र पाकिस्तान वीच ठुलो युद्धको अवस्था नआउने युद्ध विज्ञानको निश्कर्ष हो । किनभने युद्ध भनेको शत्रुलाई नष्ट गर्नु मात्र नभएर आफु वच्नु र विजय पाउनु पनि हो । तर आणविक युद्ध दोहोरो भएमा विजेता कोही पनि वन्न पाउने छैन ।
तर अहिले यी दुबै देशले प्रोक्सी वार अर्थात छद्म युद्ध लडिरहेका छन् । यस अन्तरगत एक अर्को देशका विरुद्ध शत्रुतापूर्ण प्रचारवाजी गर्ने, झुठा अपवाह फैलाउने, सानो परिमाणका आक्रमणहरु गर्ने, छापामार कारवाहीहरु गर्ने आदि गरिरहेका छन् ।
जबसम्म शोषक वर्गीय राज्यसत्ता भारत र पाकिस्तानमा रहन्छ, तब सम्म शासक वर्गले जनतालाई अन्धराष्ट्रवाद, जातिवाद, धर्म आदिको भ्रम दिएर आफ्नो शासनसत्ता लम्ब्याउने प्रयास गरिररहनेछ । नेपालका शासक वर्गले पनि वेलावेलामा चर्को राष्ट्रवादको नारा दिएर आफ्नो राज्यसत्ता वचाउन जनतालाई भ्रम दिने गरिरहेको छ ।
तसर्थ उत्पीडित वर्गको अन्तराष्ट्रवादी एकता र वोर्डरमा अर्को देशको जनता मार्न जानु भन्दा आफ्नै देशका शासक वर्गहरु विरुद्ध विद्रोह गर्न प्रेरित गर्ने माक्र्सवाद नै उत्पीडित जनताको सही विचारधारा हो । धार्मिक अन्धता, जातिवाद, अन्धराष्ट्रवाद आदि सबै जनताको शत्रु विचारधारा हो ।
(श्रेष्ठको सामाजिक सञ्जाल फेसबुकबाट साभार)
भारत–पाकिस्तान बीच आक्रमण सुरु भएलगत्तै नेपालमा पनि त्यसबारे बहस सुरु गर्न थालिएको छ । भारत–पाक बीच बढिरहेको द्वन्द्वलाई नेपालका पूर्व पराष्ट्र मन्त्रीहरुले नेपालले पनि आफ्नो विचार राख्नु पर्ने धारणा राखेका छन् ।
मुकुन्द कार्कीले आफ्नो फेसबुकमा पूर्व परराष्ट्र मन्त्रीहरुको विचार उल्लेख गरेका छन् । उनको स्टाटसमा लेखिएको छ । “भारत र पाकिस्तानबीचको तनावपूर्ण घट्नाक्रमका विषयमा नेपालले बोल्नुपर्ने पूर्वपरराष्ट्र मन्त्रीहरूले बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मात्रै होइन, छिमेकी देशसँग जोडिएको देशको द्वन्द्वको विषयमा नेपालमा मौन बस्न नहुने उनीहरूको सुझाव छ ।
महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्रमन्त्री
भारत र पाकिस्तानबीच जुन विवाद देखिएको छ, यो नयाँ समस्या होइन । भारत स्वतन्त्र भएर पाकिस्तान बनेको बेलादेखिकै विवाद हो । त्यतिबेला सीमाना निर्धारण गरेको भए तुष बाँकी रहने थिएन । भारत र पाकिस्तान दुबैले जुन जमीनमाथि दाबी गरिरहेका छन्, त्यसमा तेस्रो समूह पनि जन्मिसकेको अवस्था छ । त्यो समूह दुबै देशमा बस्न होइन, छुट्टै राज्य चाहन्छ ।
यसको अर्थ, भारत र पाकिस्तान दुई देश मिलेर मात्रै पनि यो समस्या समाधान हुने देखिँदैन । दुबै आणविक शक्ति भएका देश छन् । तर, उनीहरूले बम, गोला–बारुद पड्काएर समस्या समाधान हुँदैन । टेबुलमा बसेर दुई पक्षीय छलफल समाधान खोज्नुपर्छ ।
दुबै देश सार्कका सदस्य हुन् । सम्मेलन गर्ने जिम्मेवारी पाकिस्तानको छ । अहिलेसम्म नेपाल अध्यक्ष छ । मित्रहरू र सार्क क्षेत्रभित्र आएका विवाद भएकाले पनि हामीले समाधान होस् भन्ने चाहनु अन्यथा होइन । नेपाल शान्तिपूर्ण ढंगबाट दुबै देशसँग सम्पर्कमा रहनुपर्छ । उनीहरूले आवश्यक ठान्यो भने नेपालले सहजकर्ताको भूमिका पनि खेल्नुपर्छ ।
रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री
भारत र पाकिस्तान विभाजनसँगै जन्मिएको कास्मिर समस्यालाई इतिहासले अनिर्णित अवस्थामा छाडेको मुद्दा हो । दुबै देशका तत्कालीन नेतृत्वले दुरदर्शिता र परिपक्वता देखाउन नसक्दा यो बोझ चौथो पुस्तासम्म पनि कायम रहेको छ ।
भारत पाकिस्तानबीचको जन्मँदादेखिको शत्रुतापूर्ण सम्बन्धले गर्दा दक्षिण एशियाको विकास अवरुद्ध छ । क्षेत्रीय संगठन सार्क पनि मृत अवस्थामा छ । नेपाल दक्षिण एशियाको सबैभन्दा पुरानो राष्ट्र हो । सार्कको राजधानी पनि नेपाल नै हो । संयोगले अहिले पनि सार्कको अध्यक्ष नेपाल नै छ । यस्तो अवस्थामा अध्यक्ष नेपालले आफ्ना दुई सदस्यहरूबीचको द्वन्द्व साम्यहोस, दुई देशबीच विश्वास कायम होस् भन्ने उद्देश्य राखेर भावनात्मक नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।
डा प्रकाशचन्द्र लोहनी, पूर्वपरराष्ट्रमन्त्री
आणविक हतियार भएका देशहरूबीच द्वन्द्वको अवस्थामा आउनु कसैका लागि पनि सुखद कुरा होइन । भारत र पाकिस्तानमा देखिएको घटना चर्किँदै गयो भने त्यसको असर दक्षिण एसियाली देशमा पर्छ ।
दुबै देशले क्रिया र प्रतिक्रियामा गएर द्वन्द्वको दुश्चक्रमा पार्नुहुँदैन । मलाई त्यस्तो गर्ला जस्तो पनि लाग्दैन । भारत पाकिस्तानको उच्च नेतृत्व परिपक्व र अनुभवी भएकाले पनि स्थितिलाई सत्यानासतिर जान दिँदैनजस्तो लाग्छ । दुई देशबीचको कलहको असर नेपालमा नपर्ने कुरै भएन । सिंगो दक्षिण एशियामै प्रभाव पर्ने विषयमा नेपालले मुख खोल्न ढिलो गर्नु हुँदैन । दुबै देशलाई वार्ताबाट समाधान खोज्न नेपालले सुझाव दिनुपर्छ ।
डा प्रकाशशरण महत, पूर्वपरराष्ट्रमन्त्री
भारत र पाकिस्तानबीचमा देखिएको तनावको वास्तविकता के हो भन्ने केही दिनमा खुल्दै जाला । काश्मिर विवादबारे हामी सबै जानकार नै छौं । तर, कुनै पनि देशले आतंकवादलाई प्रोत्साहन र संरक्षण गर्नुहुँदैन ।
कुनै पनि देशले आफ्नो भूमि आतंकवादीलाई प्रयोग गर्न दिनुहुँदैन । अहिले देखिएको द्वन्द्वको मूल कारण आतंकवाद हो भन्नेमा सन्देह छैन । आतंकवादीले हमला गर्दा कसैले आत्मरक्षा गर्छ भने त्यसको विरोध गर्नु जरुरी छैन । नेपाल पनि आतंकवादको विरुद्धमा उभिनुपर्छ ।”
वि.सं.२०७५ फागुन १५ बुधवार १५:५२ मा प्रकाशित






























