२९ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसदमा विरोधका कार्यक्रम गर्नेभएको छ ।
संसदको सपथ खाइसकेका सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको राजपाले संसद अबरुद्धलगायतका विभिन्न कार्यक्रम गर्ने भएको हो ।
सरकारले २०७३ असोज ३ मा मधेशमा भएका विभिन्न आन्दोलन, राज्य तथा अन्यबाट भएका हत्या, हिंसा तोडफोड र आगजनीका विषयमा छानविन गर्न न्यायाधिश गिरिश चन्द्रलालको नेतृत्वमा न्यायिक आयोगको गठन गरेको थियो । तर, आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरेको भन्दै संसदमा विरोध सहित प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको राजपा नेता अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले बताएका छन् ।
‘आयोग सरकारले बनाएको हो, त्यसले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न के आपत्ति भयो, राजपाले बनाएको पनि होइन, रेशम चौधरीको परिवारले बनाएको पनि होइन, तर सरकार किन त्यो प्रतिवेदन सार्वजनिक गर्न अप्ठ्यारो मानिरहेको छ बुझ्न सकिरहेका छैनौं ।’ झाले संसारन्युजसँग भने ।
‘न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पहिले पनि संसद्मा कुरा उठाउँदै आइरहेका छौं ।’ झाले भने ।
वि.सं.२०७५ फागुन २९ बुधवार ११:५० मा प्रकाशित






























