
४ चैत, काठमाण्डौ । गाउँगाउँमा स्थानीय सरकार, जनताको आँगनमा सिंहदरबार भनिए पनि देशका अधिकाशं जिल्लामा जनताले सिंहदरबारको अनुभुति गर्न पाएका छैनन् । तर स्थानीय जनप्रतिनिधिले गाउँ गाउँमा सिंहदरबारको महसुस गराउनका लागि प्रयास भनेको गरेको देखिन्छ ।
गाउँपालिका तथा नगरपालिकाहरुले कृर्षि, पर्यटन, शिक्षा, रोजगारी क्षेत्र मात्र नभएर सांस्कृति तथा सामाजिक परिवर्तनका लागि पनि उल्लेख्य काम गर्दै आएको देखिन्छ ।
तर, पछिल्लो समयमा स्थानीय जनप्रतिनिधिबाट भएका भ्रष्टाचार तथा विकृतिहरु पनि जनताबाट छिपेको छैन् ।
नकारात्मकका बिचबाट सकारात्मकको थालनी भनेजस्तै धेरै गाउँपालिका तथा नगरपालिकाले अन्य गाउँपालिकालागि पनि उदाहरणीय काम गरेको समाचारहरु बाहिर आइरहेका छन् ।
यस्त्ै उदाहरणीय काम गरेको छ जुम्लाको तिला गाउँपालिकाले पनि । गाउँपलिकाले जेष्ठ नागरिकको स्वास्थ्य चेक जाँचका लागि लागि घर–घरमा डाक्टर पठाउने गरेको छ ।
गाउँपालिकाले आफ्ना ९ वटै वडामा रहेका वृद्धवृद्धाका लागि घर–घरमै स्वास्थ्यकर्मी पठाउने गरेको हो । तर यो कामका लागि भने गाउँपालिकाले बजेट नछुट्याइएको बताउँछन् गाउँपालिका अध्यक्ष रतननाथ योगी ।
‘हामीले हाम्रै भइरहेको स्रोत प्रयोग गरेका हौं, कुनै बजेट छुट्याएका छैनौं,’ उनले भने, गाउँ गाउँमा स्वास्थ्य चौकीबट जाँच तथा खोपका लागि निस्कने स्वास्थ्यकर्मीहरुबाटै यो काम लगाएका हौं । आफ्नै जनशक्ति प्रयोग गरेका हौं ।’
गाउँपालिकाले उक्त सेवा गत पुस देखि सुरु गरेको हो । यसबाट जेष्ठ नागरिक, महिला तथा बालबालिका पनि लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढा बताउँछिन् ।
यसका लागि गाउँपालिकामा रहेका सबै स्वास्थ्य चौकिलाई जिम्मा दिइएको र उनीहरुले नै मासिक कति जेष्ठ नागरिक तथा बालबालिकाको स्वास्थ्य चेक जाँच गरे भनेर गाउँपालिकालाई मासिक रिर्पोट पठाउने गर्छन् ।
गाउँपालिकाले सुरु गरेको यस्तो अभियानबाट टाढा–टाढा दुर्गममा रहेका जेष्ठ नागरिकहरु लाभान्वित भएको बुढा बताउँछिन् । बुढाका अनुसार जेष्ठ नागरिकका विशेष गरेर, खोकी, दम, ढाड दुख्ने समस्या बढी देखिएको छ । साथै महिलाको समस्या भनेको बढी पाठेघरको रहेको छ ।
‘गाउँ, त्यसमाथि पोषणयुक्त खाना छैन, भए पनि कसरी खाने भन्ने थाहाछैन, कम उमेरमै पनि बृद्धबृद्धा जस्ता देखिने समस्या बढी छ,’ उपाध्यक्ष बुढाले भनिन्, ‘उहाँहरुको अवस्था हेरेर गम्भीर प्रकृतिको रोग लागेको हो भने स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीमा जान सुझाव दिने गरेका छौं ।’
उपाध्यक्ष बुढाका अनुसार गाउँपालिकामा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक झण्डै ३५० को संख्यामा रहेका छन् । उनीहरुको नियमित स्वास्थ्य चेक जाँच गर्ने पनि गाउँपालिकाले गाउँसभाको बैठकले निर्णय गरेको हो ।
गाउँपालिकाको यस्तो अभियानले अस्पतालसम्म जान नसकेका जेष्ठ नागरिक, महिला तथा बालबालिकहरु लाभान्वित भएको पनि गाउँपालिकाले जनाएको छ । यो सेवा निरन्तर हुने पनि उपाध्यक्ष बुढाले बताइन् ।
त्यस्तै गाउँपालिकाले महिला शसक्तिकरणका कार्यक्रमहरु पनि सुरु गरेको छ । बुढाका अनुसार गाउँपालिकाले आत्म्निर्भर महिला युवा स्वरोजगार कार्यक्रम अन्तर्गत हाल नौ वटै वडाका असहाय, आर्थिकस्तर कमजोर रहेका तथा दलित महिला गरी ९ जना महिलालाई ढाका बुनाई तालिम सञ्चालन गरिदिएको छ । त्यसमा नौ वटा वडाका १–१ जना महिला सहभागी छन् । तालिमका लागि दैलेखबाट प्रशिक्षक झिकाइएको बुढाले संसारन्यूजलाई बताइन् ।
बुढाका अनुसार ती महिलाले तालिम सकेपछि उनीहरुका लागि व्यवसाय गर्नका लागि पनि गाउँपालिकाले आर्थिक सहयोग गर्नेछ ।
त्यस्तै गाउँपालिकाका महिलाहरुलाई अग्र्यानिक उतपादनमा लगाउने उद्धेश्यले आलु समुह, फापर समुह लगायतका समुह बनाएर महिलालाई उत्पादनमा जागरुक गराउने अभियानमा पनि गाउँपालिका लागेको छ । उत्पादनमा लागेका महिलाहरुलाई आफूले उत्पादन गरेको वस्तुको मूल्य थाहा पाउन, हस्ताक्षर गर्न तथा कतिमा विक्रि गर्ने भनेर अंक चिन्ने सम्मका साक्षरता कक्षा पनि चलाइएको छ ।
यसकारण गठन गर्दैछ जलजलाले नगर प्रहरी
वि.सं.२०७५ चैत ४ सोमवार १६:४१ मा प्रकाशित





























