भ्रम सही
तर यस्तो दिनको प्रतिक्षा छ-
भूतपूर्व शासकहरूका
करङ्ग भाँचिएका खवर छापियुन
उनीहरू
जेल परेका खवर छापियुन
कमसे कम समाचारले मातेर
भोकै पेट पनि
भर रात सुत्न सकुन मान्छेहरू मज्जाले !
कल्पना नै सही
यस्तो दिनको प्रतिक्षा छ-
अदालतको कठघरामा
रोइरहेको देखियोस हिजोको वादशाह
र फैसला सुनियोस-
सर्वस्व सहित जन्म कैदको
खवरको प्रसारणसँगै
उल्लासले ढाकियोस सडक
विजयोन्मादमा होस मेरो देश !
सपना नै सही
यस्तो दिनको प्रतिक्षा छ-
देशको हड्डी फोरेर मासी चुस्नेहरू
वैश्य युगका सवै वादशाहहरू
पाता कसिएका होऊन
र कोर्रा वर्षियोस उनीहरू माथि
उनीहरूको वासस्थान पनि झ्यालखान होस !
इतिहासले जरुर वदला लिन्छ
वदला नलिने हो भने
त्यो वास्तवमा अर्को युग नै होइन
अलपत्र परेको यात्राको मझधारमा उभिएर
यो देशको शासकले
देख्न प्रतिवन्ध ठोकेको
आतङ्ककारी सपना नै सही
म पटक पटक त्यही सपना देखिरहेछु !
यस्तो दिनको प्रतिक्षा छ-
मरे भनेर फालिएकाहरू
भकाभक चिहानबाट उठ्ने छन
र वाँचेका भनिएकाहरूको मलामी जाने छन !
यस्तो समयको प्रतिक्षा गर्नु
सरासर खतरनाक छ
थाहा भएर पनि त्यो कुरा
म त्यही दिनको प्रतिक्षामा छु !
२०७५|१२|२५
सुवर्ण चोक भक्तपुर
वि.सं.२०७५ चैत २५ सोमवार २०:०७ मा प्रकाशित