२८ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका शिर्ष नेतृत्व प्रदिप नेपालले दुइ तिहाइको समाजबादी रथ हांक्न युवाहरुलाइ बाटो छोडिदिनुपर्ने बताएका छन ।
कस्ता युवा र को को भनेर नाम उल्लेख नगरेपनि बेथितीका चक्रहरु तोडेर जनताको सपना साकार पार्न युवाहरु सक्रिय हुनुपर्ने बताएका छन । सामाजिक सुरक्षा कार्यक्रम बनाउन तथा जनबिरोधिहरुको भ्रम चिर्न युवाहरु सक्षम हुने आशा ब्यक्त गरेका छन । बिहिबार प्रकाशित गोरखापत्रको बिचार स्तंभमा उनले जोड दिदै भनेका छन ‘देश युवाको जिम्मामा गइसक्यो । यसको उद्घोष हो – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल । यसलाई बचाउने र अगाडि बढाउने जिम्मा पनि समाजवादी आदर्श बोक्ने युवाकै हो ।’
विरोधीहरूबाट चौतर्फी आक्रमण भएको छ सरकारमाथि । आफ्नै पार्टीका केही लहडी नेताको विषवमन पनि सोहोर्नुपरेको छ यसले । यद्यपि यो नराम्रो कुरो होइन । यसले सरकारलाई बलियो बनाउँछ । किनभने सबैभन्दा ठूलो प्रतिपक्षसँग विरोधको कुनै हतियार छैन । विरोधको आधार सरकारको कार्यक्रम र त्यसको कार्यान्वयन हुनुपर्छ । आफ्नै पार्टीले ल्याउने निर्णय गरेको हेलिकप्टरमा वर्तमान राष्ट्रपतिलाई डाम्ने, आफ्नै पालाको मोटरमा पनि अहिलेको राष्ट्रपतिलाई डाम्ने खालको विरोधले नेपाली काँग्रेसलाई घाटा मात्र पु¥याएको छ । अहिले पनि तुइन जीवित छन भन्नु लुते विरोध हो । तर, यसले सरकारलाई सहयोग गरेको छ । बाँकी तुइन पनि विस्थापित गर्न सरकारलाई झक्झक्याएको छ ।
एक तिहाइको होस वा दुई तिहाइको होस, कम्युनिस्ट पार्टीले गर्ने सामाजिक सुरक्षाको काम हो । दुई तिहाइ त्रास होइन । कम्युनिस्ट पार्टीको अलल्पमतको सरकार हुँदा त्यसले राम्रै काम गरेको थियो तर त्यसलाई असंवैधानिक तरिकाबाट विस्थापित गरियो । अहिलेको दुई तिहाइको सरकारले त्यही अल्पमतको सरकारको कामलाई निरन्तरता दिएको छ । काँग्रेसले पहिले जसरी सजिलै यो सरकारलाई ढाल्न नसक्ने हुनाले यो दुई तिहाइको हल्ला बढी भएको हो ।
यो सरकारसँग असन्तुष्टि राख्ने दर्जनौँ राजनीतिक मुद्दा छन् । यसले आफ्नो पक्षको जनबललाई बलियो बनाउन सकेको छैन । सीआईएले बारम्बार ‘कु’ को प्रयत्न गर्दा पनि भेनेजुएलाको सरकार टिकेको छ र जनताकै बलमा टिकेको छ । बारम्बार पराजित हुँदा पनि सीआईएले आफ्नो काम रोकेको छैन । एक पल्ट जितिहालियो भनेर भेनेजुएलाको सरकार सुतेर बसेको देखिएन । अहिलेको आक्रमणमा हाम्रा नेताहरूले भेनेजुएलाको सरकारबाट सिक्न खोजेको देखिएन । भ्रममा नपर्नुस्, अमेरिका कहिल्यै नेकपा सरकारको पक्षमा हुँदैन ।
आन्तरिक सङ्कटमा परेको भए पनि, चीनसँग सम्बन्ध सुधार्न खोजेको देखिए पनि युरोपियन युनियन, विश्व बैङ्कजस्ता संस्थाहरू पनि नेपालमा कम्युनिस्ट पार्टीको सरकार बनेको र त्यसले राम्रो काम गरेको देख्न चाहँदैनन् । भारतको त कुरै नगरौँ– आफ्नोभन्दा प्रगतिशील संविधान बनायो भनेर त्यसले मधेसमारा नाकाबन्दी लगायो । दिल्लीको बुझाइमा चाकरी नगरे पनि काँग्रेस आफ्नो जातभाइ हो अनि जति चाकरी गरे पनि कम्युनिस्टहरू चीनका जातभाइ हुन ।
तर, राजनीतिमा सबैका निर्णायक जनता हुन । नेपालका लागि नेपाली जनता हुन । जनतासँग एकीकृत नभएकै हुनाले पश्चिम बङ्गालको माक्र्सवादी सरकार गल्र्यामगुर्लुम ढल्यो । त्रिपुराचाहिँ अपवाद हो । नेकपाका नेताहरूले यसबाट सिक्नुपर्छ । बङ्गालको पार्टीले जनताको मन जितेर काम गर्न सकेन र आफ्नो भत्किँदै गएको धरातलको यथार्थ पनि थाहा पाउन सकेन । हाम्रो नेपालमा पनि त्यस्तै हुने खतरा बढेको छ । निर्वाचनको सिटमा ठूलो अन्तर भए पनि नेपाली काँग्रेस, जनमतमा त्यस्तो ठूलो अन्तर छैन । नेपाली नागरिकको चेतनाका बारेमा नेकपाका नेताहरूले ध्यान पु¥याएनन् भने काँग्रेसका अशिक्षित मतहरू काँग्रेसमै रहिरहने छन् ।
अब जो आए पनि सङ्घीयता मास्न सक्दैन । यो सुरक्षित छ । नेताहरूको मस्तिष्कले कुन सत्यलाई स्वीकार्नुपर्छ भने जहाँ पनि, जहिले पनि पछिल्लो पुस्ता नै बलियो हुन्छ । त्यसैले सङ्घीय सांसद र केन्द्रीय सरकारले माथिको सम्पूर्ण अधिकार तल झार्नुपर्छ । आपूmलाई टिकाउन पनि केन्द्रले यो काम गर्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टीले मात्रै जनतालाई अधिकारसम्पन्न बनाउँछ भन्ने सत्यबोध गराउन कम्युनिस्ट पार्टी र सरकारी नेताहरूले त्याग गर्ने समय भनेको अहिले नै हो । ‘सिंहदरबारको अधिकार घर घरमा’ भन्ने भाषण गरेर मात्रै पुग्दैन । त्यसलाई गाउँ र नगरपालिकामा पु¥याउनु पनि पर्छ । साँच्चै सिंहदरबारको अधिकार घर घरमा पु¥याउन सक्नुभयो भने दुई तिहाइको बहुमत भएको सिंहदरबारमा शत्रुले बम हाने पनि कम्युनिस्ट पार्टी मर्दैन ।
माथि बलियो भएर तल ठूलो होइँदैन । ०५२ साल भदौ १२ गतेको पैmसलालाई कम्युनिस्ट पार्टीका नेताहरूले कहिल्यै बिर्सनु हुँदैन तर बलियो आधार भयो भने माथिलाई कुनै असंवैधानिक प्रक्रिया अपनाइए पनि केही हुँदैन । त्यसैले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले विगतको भूमिगतकालीन कार्यशैली अवलम्बन गर्नुपर्छ । जीवनलाई मृत्युुसँग साटेको त हामीले उहिल्यै हो नि १ अहिले त हामी धेरै अगाडि आइसकेका छौँ । त्यस बेलाको जस्तो कष्ट अहिले बेहोर्नु पनि पर्दैन । जिन्दगीलाई सालको पातमा राखेर हिँड्नु पनि पर्दैन । अहिले त सुविधामै गाउँगाउँमा प्रशिक्षण कक्षा चलाउन सकिन्छ । गाउँ र नगरपालिका सबैभन्दा शक्तिशाली सरकार हुन् । त्यसैले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोही स्तरलाई बलियो र जनसेवी बनाउन प्रशिक्षण दिनुपर्छ ।
प्रदेश, नगर र गाउँ सरकारहरूले प्रशिक्षणको आयोजना गरून् । सङ्घीयताको वास्तविक ज्ञान बाँड्ने काम गरून् । सङ्घीयता भनेको नागरिक शासनको प्रत्याभूति हो । अहिले सिंहदरबार पिरामिडको टुप्पो भएको छ, त्यो टुप्पोको बलले पिरामिड टिक्दैन । पिरामिड जोगाउने भनेको त्यसको फराकिलो फेदले हो । त्यसैले नेताहरू भ्रष्ट र स्वार्थी भए भनेर नपिरिनुस् । तपाईंहरू नेताका लागि काम गरिरहनुभएको छैन । तपाईंहरू जनताका लागि काम गरिरहनुभएको छ । जनताले तपाईंहरूलाई हेरेर पार्टीको मूल्याङ्कन गरून् भन्ने भावना बोकेर काम गर्नुस् । प्रतिस्पर्धामा पहिलो हुनुहोस्– जननेता मदन भण्डारीको यो आह्वानलाई मस्तिष्कमा राखेर काम गर्नुस् ।
विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक विचार बुझ्ने कति काँग्रेस नेता छन्, म जान्दिनँ । तर, कार्यकर्ता, अझ पुराना र दुःखी कार्यकर्ताचाहिँ धेरै छन् । ती धेरैलाई पनि मेरो अनुरोध हो – बीपी कोइरालाको लक्ष्य पनि समाजवाद नै थियो । तर, ०४८ सालको सरकारले त्यसलाई काटकुट पारेर बीपी कोइरालालाई ‘महामानव’ बनाइदियो । तर, तपाईंहरू बुझ्नुहोस, बीपी कोइराला पनि तपाईंहरू जस्तै मानिस हुनुहुन्थ्यो । उहाँमा केही विशिष्ट गुण थिए जसले उहाँलाई नेपाली काँग्रेसको नेता बनायो । नेता महापुरुष हुँदैन । महापुरुषले आफ्नो योजना आयोगका सदस्यलाई ‘गाउँको किसानको अनुहार हेरेर योजना बनाउनुस’, ‘पार्टी सत्तामा पुुगेपछि जान्नेबुझ्नेहरू माथि माथि बस्छन्’ भनेर आफ्ना नेता कार्यकर्तालाई सतर्क बनाउँदैन । अहिलेका नेताहरूले बीपी कोइरालाका बारेमा छरेका गुण कुनै पनि सही छैनन् । राष्ट्रिय मेलमिलाप राजासँग घाँटी जोड्ने काम थिएन । भारतमा टिक्नै नसक्ने अवस्था आएपछि मरे पनि नेपालमै मर्छु भनेर उहाँ नेपाल फर्किनुभएको थियो । भारतमा उहाँ जयप्रकाश नारायणसँग जोडिनुभएको हुनाले सधैँभरि दिल्लीको आँखाको कसिङ्गर भइरहनुभयो । उहाँले कम्युनिस्ट पार्टीलाई कहिल्यै विश्वास गर्नुभएन । त्यसैले उहाँ जिन्दगीभर असफल हुनुभयो । अहिलेका तपाईंका नेताहरू न बीपीको आदर्श मान्छन् न बीपीको बाटो पछ्याउँछन् । बीपीको आदर्शका हिसाबले अहिलेको नेपाली काँग्रेसलाई चिन्न खोज्यो भने त्यो अनुसन्धानकर्ता नै बहुलाउँछ । मैले कुनै अतिरञ्जना गरेको छैन । आजभन्दा ८० वर्ष अघि समाजवादको आदर्श बोकेर राजनीतिमा उत्रिएको मान्छे कसरी राजतन्त्र पक्षधर हुन्छ ? बीपीको जीवनशैलीलाई नजिकबाट चिन्नेहरूले कसरी बीपीलाई हिन्दु भन्न सकेका होलान् ! हामी केटाकेटी उमेरकैहुँदा उहाँले हिन्दु धर्मसँग जोडिएको मृत्यु संस्कार त्यागिसक्नुभएको थियो ।
नेपाली काँग्रेसका युवा नेता हो, बीपीका राजनीतिक कृतिहरूको अध्ययन गर्नुहोस् । पार्टी जोगाउने कोसिस गर्नुहोस् । तपाईंका एक जना पनि बूढा नेतासँग बीपीको समाजवाद बोकेर हिँड्ने क्षमता छैन । अहिलेको सरकारलाई विरोध गरेर तपाईंहरू कहिल्यै समाजवादी यात्रामा जान सक्नुहुन्न ।
देश युवाको जिम्मामा गइसक्यो । यसको उद्घोष हो – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल । यसलाई बचाउने र अगाडि बढाउने जिम्मा पनि समाजवादी आदर्श बोक्ने युवाकै हो ।
वि.सं.२०७५ चैत २८ बिहीवार १७:२९ मा प्रकाशित