
बिर्सियौ कि भन्छ्यौ आमा
डेस लाग्दा नि सम्झिन्छु म
तिम्रै यादले रातीराती
निद्रामा नि ब्यूँझिन्छु म
घाम लाग्दा– पानी पर्दा
खुसी हुँदा, आँसु झार्दा
सधैँ साथ हुन्छ्यौ तिमी
मलाई सानै आपत् पर्दा
एक झप्को निदाउन
तिम्रै काख कल्पिन्छु म
हुने भए फेरि तिम्रै
कोखबाट जन्मिन्थेँ म
अरूहरूको आमा देख्दा
तिम्रै प्रतिविम्ब देख्छु
भित्र कताकता दुख्छ
आँखा छली आँसु पुस्छु
एक निमेष तिमीलाई भेट्न
महिनौँसम्म तड्पिन्छु म
तिम्रै चिन्ताले त सधैँ
डढेलोझैँ सल्किन्छु म
माया दिन्छ्यौ, आशिष दिन्छ्यौ
नरित्तिने छ त्यो मन
क्यै नमागी भरिन्छ त्याँ
कसरी हँ यत्रो धन ?
तिम्रै हात बड्छन् अघि
सन्तापले आत्तिन्छु म
तिमी बाटो देखाइरहन्छ्यौ
जहाँजहाँ अल्मलिन्छु म
मलाई लाग्छ पूर्व जन्म
मेरै आमा थियौ तिमी
त्यो जन्मको बाँकी माया
दिन फेरि आयौ तिमी
त्यसैले त दिइरहन्छ्यौ
मागि मात्र रहन्छु म
आफ्नै लागि कत्ति स्वार्थी,
कति लोभी भइदिन्छु म ?
वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:४४ मा प्रकाशित