
२३ बैशाख, काठमाण्डौं । स्याङजाको फेदीखोला गाउँपालिकाले समुदायमा आधारित वाल विकाश शिक्षकलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ ।
शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रममा कोइरालाले परम्परागत तरिकाले शिक्षामा सुधार सम्भव नभएको बताउँदै भने, ‘कर्मकाण्डी तवरले प्राध्यापन गर्नुहुन्छ भने म आग्रह गर्छु सेवाबाट अवकाश लिनुहोस् । अबको युगमा प्रविधिमैत्री हुन सक्नुभएन भने तपाईका उत्पादनले गुणस्तरीय नतिजा कुनै पनि हालतमा प्राप्त
गर्न सक्दैनन् ।’
उनले वर्तमान पुस्ताका विद्यार्थीहरु सूचना प्रविधीमा अब्बल भएकाले शिक्षकहरुले पनि आफ्नो स्तरीयता बढाउँदै लैजानुपर्ने उनको दावी थियो । विगतका बर्षहरुमा राजनीतिक दलहरुले शिक्षकहरुलाई झण्डा बोकाउन सिकाएको, आन्दोलनमा होमिन सिकाएको यथार्थ भएतापनि अब पनि त्यही स्थितीलाई नदोहोर्याउन प्रा.डा कोइरालाको आग्रह थियो ।
यसैबीच शिक्षाविद् कोइरालाले फेदीखोला गाउँपालिकाले निर्माण गरेको स्कुल म्यानेजमेन्ट सफ्टवयरको उद्घाटन पनि गरेका थिए । सफ्टवेयर प्रणाली अपनाएकोमा गाउँपालिकालाई धन्यवाद दिदैँ डा. कोइरालाले अब शिक्षकले छलछाम गर्ने बाटोहरु समाप्त भएको बताए । गाउँपालिकामा रहेका सबै विद्यालयको तथ्यांक, विद्यार्थी रेकर्ड, विद्यार्थी प्रगति विवरण, शिक्षक प्रगति विवरण, शिक्षक हाजिरी, लेखा, लाइब्रेरीको विवरण सफ्टवेरमा रहनेछ भने हरेक अभिभावकलाई मोवाइलएप्स प्रदान गरिनेछ ।
कार्यक्रमका अर्का अतिथि सकरात्मक सोचका अभियन्ता प्रितम पौडेलले हुन्न र सकिन्न भन्ने सोचाईलाई बदलेर हुन्छ र सक्छु भन्ने धारणालाई आत्मसाथ गर्नुपर्ने बताए । ‘देश कसले बिगारे नेताले, शिक्षा कसले बिगारे शिक्षकले, बच्चा कस्ले बिगारे अभिभावकले, हाम्रो दिमागमा नकरात्मकताको प्रवाह मात्र छ, पौडेलले भने देश सुधार्ने पनि हामी नै हो, शिक्षा सुधार गर्ने पनि हामी नै हो, यसरी दायित्वबोध गरियो भने समृद्धि कुनै ठुलो कुरा होइन ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले विशेषत शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरेकाले गुणस्तरीयता र नतिजाउन्मुख हुन सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताए ।
शिक्षालाई प्राथमिकता दिँदै दुईको अवधिमा भर्ना अभियान, हरेक विद्यालयमा दक्ष आइटी शिक्षकको व्यवस्था, सोलार प्यानलको व्यवस्थापन, स्थानीय शिक्षा ऐन निर्माण, छात्राको सहजताको लागि सेनिटरी प्याड वितरण, हरेक विद्यालयमा विद्युतिय हाजिरीको व्यवस्था, इ–लाईब्रेरीको विस्तार गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

पुर्बधार बिकासमा प्रत्येक माबिमा कम्प्युटर ल्याबको ब्यबस्थापन गर्न रु ३५ लाख रकम बिनियोजन गरि त्यो बराबरको कम्प्युटर र अप्टिकल फाइबरको ईन्टरनेट उपलब्ध गराएको छ । आर्थिक बर्ष २०७५र०७६ बाट डिप्लोमा इन कम्प्युटर बिषय अध्ययन गराउन गाउँपालिकाको केन्द्रमा रहेको बिद्यालय सिदार्थ मा.बि। फेदीखोलामा सिटीईभिटीबाट सम्बन्धन लिएको अध्यक्षले जानकारी दिए ।
जस्को पुर्वधार बिकासको लागि गाउँपालिकाले ३० लाख रकम बिनियोजन गरि काम सम्पन्न भएको छ । यसै शैक्षिक सत्रबाट एसईई पास गरेको ४८ जनालाइ तीन बर्षको कोर्षमा पहिलो सेमेस्टरमा भर्ना खुल्ने जानकारी समेत दिएका थिए ।
शिक्षामा प्रबिधिको प्रयोगलाइ प्रभावकारी र दुर शिक्षाको मोडलबाट श्रब्य दृश्य सहित गाउँपालिका केन्द्रमा रहेको सिद्धार्थ मा।बि।को आइसिटी कक्षमा Distance Learning Center को स्थापना गरिएको छ । बिषय बिज्ञले र कुनै महत्वपूर्ण जानकारीमुलक सुचना प्रवाह गर्न ईन्टरनेटको माध्यमबाट विद्यार्थीको कक्षामा प्रोजेक्टरको मास्टर सिस्टमबाट विद्यार्थीलाई शिक्षण क्रियाकलापको सुरुवात गरिएको पनि कार्यक्रममा जानकारी दिए ।
त्यसैगरि फेदीखोला गाउँपालिका स्याङ्जा भित्रका सम्पुर्ण बालबिकास कक्षामा अध्यापन गराइ रहेको शिक्षकहरुको मासिक तलबमा बार्षिक बजेटबाट निसर्त तर्फ रु। १००० प्रत्येक शिक्षकको तलबमा थप प्रोत्साहन भत्ताको ब्यबस्था गरिएको छ ।
कार्यक्रममा जनप्रतिनीधि तथा शिक्षकले आ–आफ्नो भोगाई, समस्या र जिज्ञासा प्रक्षिशक माझ राखेका थिए ।
वि.सं.२०७६ वैशाख २३ सोमवार ११:५३ मा प्रकाशित





























