
२७ वैशाख । नेपालको कम्युनिष्ट आन्दोलनका नेता निर्मल लामाको अठोट पूरा गर्न भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्न लागिएको निर्मल लामा स्मृति प्रतिष्ठानले जनाएको छ ।
लामाको १९ औँ स्मृति दिवसको अवसरमा आज राजधानीमा उक्त अभियान घोषणा गरिएको हो । प्रतिष्ठानका अध्यक्ष एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अमिक शेरचनले जीवनको अन्तिम क्षणसम्मै भ्रष्टाचार नियन्त्रणमा चिन्तित नेता लामाको अठोट पूरा गर्न अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका उनले अहिले पनि लामाको बाटोमै आफू हिँडिरहेको उल्लेख गर्दै शेरचनले भने, “जनताको प्रिय र मजदूर वर्गको सच्चा नेता लामा निजी स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा सधैँ अग्रसर हुनुहुन्थ्यो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ भन्ने गरेको भ्रष्टाचारमा शून्य सहनशीलताको विकास गरी सुशासन कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने आकाङ्क्षा पूरा गर्न अभियानबाट सघाउ पुग्ने उनले बताए । आगामी दिनमा छलफल गरी पहिलो चरणमा वैचारिक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने तथा अर्को चरणमा जनतामाझ गएर प्रचारप्रसारका कार्यक्रमसहित अभियान चलाइने शेरचनले बताए ।

नेता दीनानाथ शर्माले प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रण गर्ने अठोटलाई सो अभियानले सहयोग पु¥याउने भन्दै लामाले देखाएको बाटोमा कम्युनिष्टहरु लाग्नुपर्नेमा जोड दिए । नेकपाका वरिष्ठ सदस्य विष्णुबहादुर मानन्धरले विगतमा लामाले देश र जनताको पक्षमा गरेका आन्दोलनको चर्चा गरेका थिए ।
नेकपाका अर्का नेता लीलामणि पोखरेलले लामालाई कम्युनिष्ट आन्दोलनमा समाजका सबै वर्गका उत्पीडनको नेताका रुपमा स्मरण गर्दै उनको इच्छा भ्रष्टाचार नियन्त्रण रहेको बताए । अहिले पनि नीतिगत रुपमा होस् या अन्य तरिकाले भ्रष्टाचार कायमै रहेको र कम्युनिष्टहरु यस्ता क्रियाकलापमा फस्न नहुनेमा उनले जोड दिए ।
साहित्यकार तुलसीदास महर्जन र डिआर पोखरेलले निजी स्वार्थलाई वास्ता नगरी जीवन समर्पित गरेका नेता लामा तत्कालीन समयका राजनीतिक ‘आइडल’ भएको स्मरण गर्दै उनले निष्कलङ्क जीवन जीएका् बताए ।
नेता लामा रोगले पीडित भएपछि जीवनको अन्तिम समयमा नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र मसालको केन्द्रीय सदस्य रही जिम्मेवारी सुम्पिएर बसेका थिए ।
वि.सं.२०७६ वैशाख २७ शुक्रवार १९:३७ मा प्रकाशित






























