२८ वैशाख । विदेशमा बसेका नेपालीहरुको विज्ञतालाई राज्यले उपयोग गरेन भन्ने गुनासो प्रवासी नेपालीहरुले गरिरहेका बेला सरकारले त्यो गुनासोको सम्बोधन गर्ने भएको छ । सरकारले विभिन्न देशमा रहेका नेपालीहरुको विज्ञतालाई देशको विकासमा उपयोग गर्ने अभियानको सुरुवात गर्ने भएको हो । परारष्ट्र मन्त्रालयले सूचना जारी गरी विभिन्न देशमा कार्यरत नेपालीहरुमा रहेका सीप क्षमतालाई देशको समृद्धिमा उपयोग गर्ने उद्देश्यले Brain Gain Center (बिजिसी) नाम अभियानको सुरुवात गरिएको जनाएको छ । सरकारले संसारभर रहेका नेपालीलाई उक्त अभियानमा जोडिन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयद्वारा सार्वज्निक गरिएको सूचनामा सरकारले लिएको सन् २०२२ सम्ममा अल्प विकसित मुलुकबाट स्तरोन्नती हुँदै विकाससिल मुलुकमा पुग्ने लक्ष्य पुरा गर्न विदेशमा बस्ने नेपालीहरुसँग सहकार्य गर्न अनुरोध गरिएको छ । मातृभूमिप्रति के कस्तो योगदान गरिरहेका छन्, उनीहरुको योगदानलाई थप संस्थागत र प्रभावकारी बनाउने के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भन्ने कुराको एकिन गर्दै मुलुकलाई आवश्यक जनशक्तिको पहिचान गरी उपयुक्त क्षेत्रमा परिचालन गर्ने उद्देश्यले बिजिसी अभियान सुरु गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ ‘यस अभियानको महत्वपूर्ण पक्ष तपाईहरुको मेहनत र उपलब्धिहरुको सम्मान गर्ने पनि हो ।’
सरकारले मन्त्रालयको वेभसाइटमार्फत आफ्नो विज्ञताका सूचनाहरु अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउने बताउँदै आ–आफ्नो जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १२:५४ मा प्रकाशित






























