

३ मङ्सिर,खोटाङ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा पुनः उडान सञ्चालन भएको छ ।
वर्षात्का कारण गत जेठ पहिलो हप्ताबाट अवरुद्ध बनेको उक्त विमानस्थलमा पुनः नियमित उडान सञ्चालन भएको हो । गत कात्तिक २० गते परीक्षण उडान गरिएको सो विमानस्थलमा नेपाल वायुसेवा निगमले नियमित उडान सञ्चालन गर्दैआएको स्टेसन इन्चार्ज नरेन्द्र उदासले जानकारी दिनुभयो ।
प्राधिकरणले हप्ताको दुईपटक बुधबार र शनिबार काठमाडौँ–थामखर्क तथा थामखर्क–काठमाडौँ उडान भर्ने गरी तालिका सार्वजनिक गरेको छ । थामखर्कमा उडान सञ्चालन भएपछि अन्य यातायातको सुविधा नपुगेको त्यस क्षेत्रका सेवाग्राहीलाई सहज भएको छ ।
काठमाडौँ तथा अन्य ठाउँ जानका लागि दक्षिणी क्षेत्रका २० गाविस तथा छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणलाई हवाईसेवाबाट सहज भएको छ । जिल्लामा थामखर्कसहित लामीडाँडा र खानीडाँडा विमानस्थल सञ्चालनमा छन् ।
सदरमुकाम दिक्तेलबाट नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रे छ । लामीडाँडामा कालोपत्रे नभए पनि बाह्रैमास उडान हुने गरेको छ । विसं २०५६ बाट दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर उडान सुरु गरिएको थामखर्क विमानस्थल हालसम्म कालोपत्रे नहुँदा हिउँदमा मात्र उडान हुने गरेको छ । रासस
वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०९:०६ मा प्रकाशित