३ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले संयुक्त रुपमा दोस्रो सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद्मा दर्ता गराएका छन् । यी दुई दलले सरकारको दुईतिहाइको दम्भविरुद्ध संसदमा सहकार्य गर्ने सहमति गरेका हुन् ।
कांग्रेस र राजपाले बुधबार राष्ट्रिय सभामा ‘अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले’ कारण राखेर जरुरी सार्वजनिक महतवको प्रस्ताव दर्ता गराएका छन् ।
प्रस्तावमा कांग्रेस सांसद राधेश्याम अधिकारी प्रस्तावक तथा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डे समर्थक छन् । राष्ट्रिय सभा नियमावली,२०७५ को नियम ६६ बमोजिम प्रस्ताव दर्ता भएको छ ।
प्रस्तावमा अविरल बर्षापछिको बाढी,पहिरो र डुवानको भौतिक र मानवीय क्षतीपछिको नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत विभिन्न राजनीतिक दल एवं संघसस्थाहरुबाट भएका र हुने उद्धार तथा राहतको कामकारबाही सम्बन्धमा यो सदनले जानकारी लिई आवश्यक निर्देशन गर्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको उल्लेख छ । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट