सशक्त आयुको आफ्नै सुक्ख दुक्ख भए पनि
सन्तुष्टि लिनुको मज्जा छुट्टै हुन्थ्यो दुखे पनि
निवृत्त आयुको छुट्टै आनन्द मिल्न सक्छ र?
निम्तो नै स्वर्गको लागि कुरे जस्तो हुँदैन र? (१)
छिपाई भित्रको आँखा चिल्लो देखिन्छ बाहिर
“छैन क्यै रोग यो मेरो” भन्नैमा हुन्छ माहिर
कोठामा जव भित्रिन्छ ज्यूनैका निम्ति खातिर
औषधी कति हुन् पोका खाँदै ज्यूँदै छ आखिर (२)
चिटिक्क तनको फेरो लोभ लाग्दो हुने गरी
बाहिरी दृश्य हो मान्छे तन्नेरी देखिए पनि
न वस्त्र साथ दिन्छन् ती न ता आभूषणै कुनै
मक्किँदो स्वास्थ्यको रक्षा भित्री रूप सँगाल्नुमै (३)
तथापि बाँच्नु नै पर्छ जस्तो स्थिति छ भोग्नुछ
आफ्नै हो जिन्दगी मित्र जसो तसो लतार्नुछ
व्यायाम नित्य नै गर्नू योगाभ्यास सधैंभरि
मात्रा मिलाउनू खाना निरोगी बन्छ जिन्दगी (४)
वि.सं.२०७६ साउन १५ बुधवार २१:०५ मा प्रकाशित






























