साउनभरि हरिया चुरा लगाउँछु भन्छे ।
निराहार नै मलाई हेरि अघाउँछु भन्छे ।।
आफ्ना सारा दुःखहरू भूलेर भएपनि ।
तिम्रो घरमा दालभात पकाउँछु भन्छे ।।
चाँहिदैन रे अरू कुरा पाए मेरो माया ।
सधैं तिम्रै मनमुटु भित्र हराउँछु भन्छे ।।
कसम खाएकी छु भन्छे भगवान सँग ।
तिम्रै हातले नै सिंउदो सजाउँछु भन्छे ।।
अन्धकार छ मेरो घर दुःख हुन्छ भन्दा ।
तिम्रो घरमा चन्द्रमा झैं उदाउँछु भन्छे ।।
हात खुट्टा छ्न् मेहनत गर्न जानेकी छु ।
बिषादीरहित तरकारी फलाउँछु भन्छे ।।
बेरोजगार छु पाल्न सक्दैन भन्दा पनि ।
सुखदुःख “रेशाली“ संगै रमाउँछु भन्छे ।।
बुटवल–११,रुपन्देही ।
वि.सं.२०७६ साउन १८ शनिवार ०८:१९ मा प्रकाशित






























