आकाशमा बादल फाटेको दिन
सुनौलो सपनाको पंख हालेर
यस धरतीमा तिमी
फ्वात्त खसेको थियौ अरे
कतैबाट !
मानौं कि,
इश्वरीय देन थियो अरे त्यो
जसले गर्दा
मेघको कुनै गर्जन झेल्नुपरेन
कहिल्यै चेहराको रंग बदल्नुपरेन ।
सात जुनी सगै जिउने भनी
तिमीले मलाई
अग्निको वरिपरि सात फन्को
फनफनी घुमाएका थियौ
त्यसैले,
सन्तृप्त देखावटी मुस्कान छर्दै
तिम्रो घरमा भित्रिएकी हुँ ।
दाइजो दिएर
तिमीलाई खुशी पार्न
मेरो बुवाले बन्दगी राखेको खेत
मेरी आमाको बेचिएको तिलहरी
मैले अझै पनि भुलेकी छैन ।
वर्षौंदेखि,
कयौ पटक
शौचालयको भित्तामा लेखिएका
शब्दसँग ठ्याक्कै मेल खाने ती शब्दले
मनको आगो दनदनी बले जसरी
भस्म खरानी भएको छु ।
पेटमा अंकुराउँदै गरेकी
यो अबोध बच्चिले
मलाई सुम्सुमाउदै भन्छे
मामु,म जन्मिन चाहन्छु !
कयौ प्रहर,
कयौ रात
तिमीलाई मनाउन मैले
औंला जोडेर विन्ती विसाउदा
गालामा चड्कन खाएकी छु
तर तिमी अझै,
भ्रुण हत्याकै साँघुरो सोचमा छौ
हो,थाहा छ मलाई
तिमीबिना म
निस्फिक्री आमा हुन सक्दिन !
वि.सं.२०७६ भदौ २८ शनिवार ०८:३६ मा प्रकाशित






























