शिरमा खुकुरी चिन्ह
जडिएको ढाका टोपी
हतियार लौरो,
मुखमा सलाम साब
सलाम साब,
हात सलामी मुद्रामा ।
चिन्नु भो हजुर ?
मेरो देशले चिनेको
म हुँ गोर्खा ..
मेरो नाम बहादुर,
मेरो परिचय
बहादुर ।
शिक्षित छ मेरो जाति
दिइरहेछ योगदान
देशलाई हर क्षेत्रमा ।
तर थाहा छैन हजुर,
कसरी बदलियो
अर्थ बहादुरको ?
विश्व परिचित बहादुर गोर्खा
किन हाँसोको पात्र
बहादुर भयो ?
मेरो पूर्खा साँच्चै
बहादुर थिए,
विश्वले चिनेको
निडर योद्धा थिए ।
काल थिए रणभूमिको
थरथर काँप्थे वैरी,
गगनभेदि आवाजले
जय महाकाली
आयो गोर्खाली भनी,
जब जाइलाग्थे शत्रु माथि ।
आज सम्म मेरो जाति
देश रक्षामा डटिरहेछन्,
सिमानामा सहिद बन्दै
आफ्नो ज्यानको
बलिदान दिइरहेछन् ।
तर किन हो हजुर..
मेरो जातिको बलिदानको
कुनै मूल्य छैन
मेरो देशमा,
आफ्नो भन्नुलाई मेरो जातिको
कुनै घडेरी छैन्
मेरो देशमा ।
अब त धेरै भो हजुर
विश्व थर्काएको खुकुरीमा
खिया लागेको ।
धेरै भो मेरो पूर्खाले
कमाएको तक्माहरूमा
बाक्लो ध्वाँसो लागेको ।
त्यसैले होला ..
हिजो आज देशले चिनेको
त्यो बहादुर हुँ म,
खुकुरी छोडी लौरो पक्रिएको
मात्र एक चौकीदार हुँ म ।
सलाम साब भन्न मा मात्रै
सिमित रहेको
चलचित्रमा दर्शाइने
हास्य व्यंग्यको
पात्र हुँ म ।
तर हजुर..
अब त असह्य भो
यो परिचय मलाई,
अपाच्य भो बहादुर
नाम मलाई,
अब चिनिनु छ मलाई
आफ्नै नामले ।
प्रमाण दिनुछ मैले अब
त्यही वीर गोर्खाको
सन्तति हुँ भनी ।
चाहिएको छ मलाई
अब आफ्नै घडेरी ।
बताउनु छ मेरो देशवासीलाई
अब मैले मेरो
वास्तविक परिचय र
बाँच्नु छ युगौं युग
वीर बहादुर गोर्खा बनी ।
वि.सं.२०७६ असोज ४ शनिवार ०९:२३ मा प्रकाशित





























