उस्तै पोटिलो अनुहार
खाइलाग्दो शरीर
आसेपासेको लामै लस्करको बिचबाट
आज फेरि
उर्दी जारी छ
दीपावली मनाउनू
तिमीलाई लाग्दो हो
सिंहासन भेटिएपछि
सबैलाई सधै ढाट्न सकिन्छ
छल्न सकिन्छ
आवश्यकता अनुसार
उर्दी फर्माउन सकिन्छ
ब्युझ यो भ्रमबाट
पल्टाऊ इतिहास र गौड गर
कहिले कहिले ?
कस्ता कस्ता उर्दी जारी भए ?
कसले कहाँ कसरी गरे ?
आज्ञाको पालन ।
के का लागि गरू म दीपावली ?
तिमीले हाम्रै हो भनेर थमाएको संविधानको धारा उपधाराबाट
छङ्छङ गर्दै बगेन
हाम्रो असमानता र गरिबी निर्मूल पार्ने
पवित्र जल
न भेटियो समृद्धिको पूर्वाधार
न त मेटियो राष्ट्र दोहनको शृङ्खला
मलाई माफ गर
म असमर्थ छु
खुम्चिएको मनले
दीप जलाउन
मलाइ आरोप नलाउनू प्रतिगामीको
मलाई पटक्कै रिस छैन
तिम्रो भागको
मलाई पटक्कै डाहा छैन
तिम्रो सिंहासनको
जोगी बन्नकै लागि
हिजो तिमीले झन्डा उचालेका थिएनौ
यो पनि हेक्का छ
तिम्रो रिस या खुसको प्रवाह नगरी
केवल यति भने
यो उर्दीको फर्मान
तिम्रो सिंहासनको टेको बन्दैन
विश्वको दोस्रो …..देशको वासिन्दा
यो दाग मेरो निधारबाट मेटिदैन ।
वि.सं.२०७६ असोज ४ शनिवार ०९:२५ मा प्रकाशित





























