असारे झरीले जमिन भिजाउँदा
‘बा’को अनुहारमा घाम उदाउँछ
‘बा’को अनुहारमा उदाएको घाममा
आमाले वर्षभरी रुझेको दुःख सुकाउँछिन्
भाइबहिनी झरीमा स्कुल जान नपरेकोमा खुसी हुन्छन्
र,
रुझ्दै आउँदै ‘बा’ लाई कछुवाको कथा भन्न लगाउँछन्
भाइबहिनीलाई थाहा छैन
हामीलाई दौडाउन बा नै कछुवा भएका छन्
थुप्रै पटक आफू हारेर
हामीसँग जितेको अभिनय गरेका छन्
बा हामीलाई फूलाउन सहर पठाएर
आफू गाउँमा सपना रोप्छन्
बा बिहानै उठेर खेतमा कुलो मिलाउँदा
आमाले दैलोपोतो सकिसक्दा
हामी इन्टरनेटमा फोटो पोस्ट गर्दै
नाइस पिक भन्दै हुन्छौं
बा रातभर हलि, रोपाहर र रोपाइँको चिन्ताले निदाउँदैनन्
हामी विदेशका साथीसँग भाइबर गफले निदाउँदैनौं
आमा पैंचो मागेर मेलामा अर्नी खुवाउँदा खुसी हुन्छिन्
हामी रेस्टुरेन्टमा मःम, चाउमिनमा खुसी हुन्छौं
बा असारे हिलोले गोडा पाक्दा सजिवनको चोप लगाउँछन्
हामी गोडा चम्किलो बनाउन क्रिम लगाउँछौं
बालाई खुब सुहाउँदा माटोको रंग
हामी ब्रान्डेट पाउडर र क्रिम घस्छौं
आमाले आरामले बोकेझैं लाग्छ घाँसको भारी
हामी तरकारी लिन जाँदा पनि ट्याक्सी खोज्छौं
बा–आमा असारमा हरियो सपना रोपेर
मंसिरमा पहेंलो सपना भित्राउँछन्
पसिनामा विस्वास गर्छन्
सपना, पीर र दुखको भारी बोकेर
टुकुटुकु हिँडेका बा–आमा बच्चा झैं लाग्छन्
हामी भविष्य खोज्न निस्केका सन्तान
भविष्य नै नदेखि बुढो झैं गछौं ।
वि.सं.२०७६ असोज ४ शनिवार ०९:३० मा प्रकाशित





























