गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया प्यासेफिक संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिने बताएका छन् ।
एसिया प्यासेफिकका उपसंयोजक रहेका पोखरेलले संयोजकमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
एनआरएनए जापानको सदस्यदेखि सल्लाहकार तथा अध्यक्ष हुँदै एसिया प्यासेफिकको उपसंयोजकको जिम्मेवारी समेत सम्हालिसकेका पोखरेलले २०१९–०२१ का लागि संयोजकमा उम्मेदवारी दिने बताएका हुन् ।
जापानमा व्यवसाय गर्दै आएका पोखरेलले संयुक्त लगानीमा जोड दिँदै युवाहरुको शीप र क्षमतालाई समृद्द नेपाल निर्माणका लागि हातेमालोमा जोड दिने योजनासहित उम्मेदवारी दिने बताएका हुन् । एशियाभरी एनआरएनए विस्तार गर्ने बताउने पोखरेलले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्दै आएको र भविष्यमा पनि एशिया प्यासेफिकमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीको हकहितलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
सुनसरीको इनरुवा नगरपालिका १ मा जन्मिएका पोखरेल सन् २००१ मा रोटरी क्लवको रोटरी ग्रुप इस्टडीएक्सचेन्ज कार्यक्रममा सहभागी हुन जापान पुगेका पोखरेल सन् २००५ मा रोटरी फाउन्डेशनले प्रदान गरेको रोटरी एम्बासोडिरिअल छात्रवृत्तिमा जापानको टोक्यो स्थित इन्टरनेशनल क्रिश्चियन विश्वविद्यालयमा अध्ययन गरे । अध्ययनपश्चात व्यवसायमा लागेका पोखरेलले सामिका ग्रुपको नामक कम्पनीमार्फत् विभिन्न व्यवसाय गरेर बसेका छन् ।
एनआरएनए नागोयाका संस्थापक संयोजक, नागोयामा पहिलोपटक आफ्नै संयोजकत्वमा नेपाल फेस्टिवलको आयोजना, जापानको अध्यक्ष रहेका बेला अनलाइन सदस्यताको सुरुवात, उनकै संयोजनमा नेपाल फेस्टिवल, नेपालमा गएको भूकम्पममा जापानबाट राहत संकलन, जापानमा एनआरएनए कार्यालयलगायतका महत्वपूर्ण कार्यालयको थालनीलगायतका महत्वपूर्ण कामहरु गरेका छन् ।

वि.सं.२०७६ असोज ६ सोमवार १२:३७ मा प्रकाशित





























