गगनचुम्बी भइ
शानले खडा छु चौबाटोमा
तैपनि
चिन्दैन मलाई यो शहर ।
आखिर
इज्जत गौरव त मैले
उसैको बढाएको छु
तैपनि
बोल्दैन किन मसँग यो शहर ।
दिनहुँ खलखली पसिना बगाउँछ
वातानुकुलित छु
तैपनि
फर्केर हेर्दैन म तिर
किन होला
एक झलक यो शहर ।
गहिरो विश्वास छ उसलाई
आफ्नो मिहेनत इमान्दारीमा
पन्छिने गर्दछ म देखि
भ्रष्टाचारको गन्ध आयो भन्दै यो शहर ।
भोक भोकै सुत्न
तयार छ यो शहर
सु–सम्पन्न, समृद्ध छु
अकुत कमाएको छु
तैपनि,
मसँग माग्दैन कहिल्यै यो शहर ।
थरथर काप्छ पौष–माघमा
वर्षेनी यो शहर
तैपनि
न्यानो खोज्दै म कहाँ
कहिल्यै आउँदैन
किन होला यो शहर
दङ्ग पर्छु
किन होला
चिन्दैन मलाई यो शहर ।।
वि.सं.२०७६ असोज ११ शनिवार १०:३७ मा प्रकाशित



























