दिमाग र मनको आँखाले
स्वार्थ भन्दा परसरेर
हेर त !
धेरै देख्यौ समाज
सबै बुझेकी छौ जीवन
बुझेर पनि सँधै फरक भइरह्यौ अनुप्रिया !
आज फेरि संझाउदै छु
जीवनचक्र
रक्त आहालमा डुबेर
अनिश्चित जीवनका पाइला चल्न नसक्दा पनि
अनगिन्ती व्यथाबीच पेट सुम्सुम्याउँदै
आफ्नो सन्तानको शकुसल जन्म चाहने
गर्भवती आमाले देखेकाजस्ता सपना
तिम्रा पनि छन् हैन र ?
पीडाको काखमा सपरिवार बोकेर
जलाशयमा डुव्दै डुब्दै
कोक्रोमा सन्तान सुरक्षित राखेर
किनार छुने बिश्वासले थाप्लोमा बोकेर
हाँस्दै सागर तर्ने पिताले देखेका सपना पनि
उस्तै हुन्छन् हैन र ?
एक हुँदै
दुई तीनसम्म पुगेको परिवारको भार थेग्न
भरसक परिस्थितीसँग लडाईं गरेर
काँध थाप्न तम्सिने आमाबाबु
कहाँ हारेर भागेका छन् र
सन्तान सुयोग्य नहुँदै
हेर त देख्छ्यौ र ?
माया उस्तै तिमीले सन्तानलाई दिने
बाबुआमाले हामीलाई दिने
सम्झ, आमा भएर
कसरी तिर्न सकिन्छ पैतृक ऋण
भो !
बकबक नगर अनुप्रिया
संसार स्वार्थिमात्रको हैन
कर्तब्यबाट विचलित भएर हिड्न मिल्दैन
सापेक्ष मायामा निर्लिप्त हुँदा
निस्वार्थ तिमी हुन सकिनौं
तल झरेको माया माथि उक्लन सकेन
जसरी होस
उकाल्नु पर्छ निरपेक्ष भएर
जोसंग
तन गाँसिएको छ
मन गाँसिएको छ
जीवन गाँसिएको छ
रगतका थोपाथोपामा
तर
सधैं स्वार्थ बाझिएको छ
अतृप्त असन्तुष्टिहरू छन्
जहाँ
कर्तब्य एकातिर छ
रहरहरू अर्काेतिर छन्
उस्तै प्रणयको रसातलबाट
प्रेमिल जीवन उपहार लिएर
जन्मिएको तिमी
स्वयं आमा हुँदाहुँदै
स्वार्थका भरिएका आँखामा
बोझिला बृद्द आमाबुबा मात्र किन देख्छन् ?
पेचिलो प्रश्न मेरो
किन विर्सन्छ्यौ
अब हजुरआमाको पालो तिम्रै हो !
२०७६ असोज ५, काठमाडौ
वि.सं.२०७६ असोज ११ शनिवार १०:३८ मा प्रकाशित



























