back
CTIZAN AD

कविता : अहँ म झुक्दिन अब

वि.सं.२०७६ असोज ११ शनिवार

1.3K 

shares

आज जून तारा फूलिरहेको,
फूलको कोपिलाजस्तै मेरो अनुहार
श्रृङ्गार्दैआमा भन्नुहुन्थ्यो–
मेरी छोरीलाई रातो टीका सुहाउँछ
आँखामा गाजल सुहाउँछ
गालाको डिम्पलमुनि बसेको
तोरीको दानाजस्तै कालो कोठीमा
सबैलाई मोहित पार्ने चुम्बकीय आकर्षण छ,

ठिक त्यतिबेला
समुद्रको पानीजस्तै बगाउँथेँ म
मेरो खुसीलाई दक्षिणी क्षितिजसम्म
निलो ज्याम्फरको फेरो उचालेर
टोकिरहन्थे दुई ओठले ।

मेरो खुसीले खोज्दथ्यो
आमाको सुन्दरताको उपासना भित्रको रहस्य,
त्यतिबेला लाग्थ्यो, म आमाले हेर्ने सुन्दर ऐना हुँ ।

धेरै अघि भेटेकी काकी कतैबाट फुत्त आएर
पिढीँको फलैँचामा बस्न नभ्याउँदै
उही कुरो दोहोरिन्थ्यो
तपाईंकी छोरी
पुतलीजस्ती !
आमाले काकीसँग अझ अरु शब्दका बुट्टा भरिरहँदा
म बुझ्दैनथेँ राम्रीको गुण रअवगुण !

काकीले आमाको कानमा
कुनै शब्द
(म यसमा स्पष्ट भइन)
फुस्फुसाएपछि
उनको चेहरामा फुलेको खुसी
निमेषमै किन ओइलियो ?
त्यसको रहस्य के थियो ?
अनि मेरी आमाको अघिको खुसी
काँचजस्तै टुक्रिएर
मेरो मनभित्र चसक्क हुँदा
काकीसङ्ग आमाको
तिक्तता बढेको आभास हुन्थ्यो मलाई ।

निकैबेरपछि पुतलीझैँ फुरुरु हुँदै
पर पुगेर आएकी म
आमाको काखमा पुग्थेँ
मेरा साना हात चुपचाप उहाँको
सजल आँखा छुन पुग्दथे ।

समय उही रहेन
आमाको सुन्दर छोरी गोरो वर्णकी मभित्र
ठोक्किन आउँथे हरेक मान्छेका आँखा
आफ्नो आँखाको नानीबाट
तिनले गुमाउन नचाहँदा नचाहँदै मलाई
म हत्तपत्त आफ्नो दृश्य एण्टिलाइट पारिदिन्थेँ ।

एक दिन छिमेकी दाजुले
कति राम्री भन्दै गाला चिमोटे
मलाई कस्तो कस्तो भान भयो
पसलको अधबैँसे साहुले
चक्लेट हातमा दिँदै बेस्सरी अँठ्याउँदा
म चक्लेट फालेर कति छिटो दाइको हात समाउन
घर आइपुगेकी थिएँ,
यो त सुरुवात थियो
अझै सुन्नुहुन्छ ?
स्कुलमा धेरैले प्रेमको
मन्जुरीनामा मागे
कलेजमा ममाथि सुन्दरीको
कुरुप शब्द प्रहार भए
बाटोमा, यात्रामा जहाँसुकै
मैले, आफूलाई असुरक्षित महसुस गर्न थालेँ ।

मलाई आमासँग गुनासो छैन
काकीसँग छैन
कपालमा रिबनको फूल फुलाइदिने
मेरी आँबोइसँग छैन
बाको आँखाको नानीसँग छैन ।

र पनि
मलाई अभिसाफ लाग्छ
के छ मेरो अनुहारमा
के हो मान्छेले बुझेको सुन्दरता ?
मैले कहिल्यै हेरेको छैन
मनलाई लुकाएर
आँखाबाट सुन्दरताको ऐना

जिन्दगीको घोडा दौडमा
कसरी खोजूँ म
राम्रीको परिभाषा ?
कहाँ खोजूँ यसको सिमाना ?
तर सुन्नुस् त आमा
कोपिला होइन
फूल पो खोज्छ त पुतलीले
है आमा,
हो भन्नुस् न आमा !

मेरी आमाले मुहार चम्किलो पार्दै
शिर उठाउँदा
म पनि झुक्दिन अब
कलुसित मनसङ्ग ।

वि.सं.२०७६ असोज ११ शनिवार १०:४० मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...