जब म अतीतको ऐनामा तिमीलाई देख्छु
अनायसै यादहरू तप्किन्छ मसी बनेर
फेरि शब्दशब्दमा तिमीलाई नै लेख्छु
र तिनै अतीतलाई कलम बनाएर ।
किन बिलाउँथ्यौ र तिमी
तिमी आफ्नै प्रतिबिम्बबाट ?
के कहिले पानी
पानीसँग छुट्टिएर बस्न सक्छ र ?
त्यसैले,
तिमी मेरो नयनदेखि छुट्टिएर कहिल्यै बस्नै सकेनौ
सम्झिन्छ्यौ मलाई पलपल परेली भिजाएर ।
आऊ अतीत तिमी एक बिम्ब र प्रतीक बनेर
आऊ अतीत तिमी असंख्य रूपक र अलङ्कार बनेर
आऊ अतीत तिमी
मौनताको गगनमा उही जूनको आकार बनेर
आऊ अतीत तिमी
शब्दशब्दमा इतिहासका एक महाकाव्य बनेर ।
आऊ अतीत तिमी हातमा दियो बालेर
जुन दियोले तिमी मलाई
उज्यालोमा भन्दा अधिक अँध्यारोमा
पृष्ठपृष्ठ पल्टाएर पढ्ने गथ्र्यौ
आज निरीह छन् सबै ती जीवनका पानाहरू
तिमीजस्तो पृय पाठक नभएर ।
पाठक नै नभए पुस्तकको के अर्थ रह्यो र ?
जहाँ जीवनको बादल नै छैन
त्यहाँ खोक्रो गगन हुनुको के अर्थ रह्यो र ?
मक्किएको टालोलाई सिउनुको के अर्थ रह्यो र ?
देहावसान अघाएर अवसानकै बाटो बिर्सिएपछि
जिउनुको के अर्थ रह्यो र ?
पिएर नसा जिन्दगी दुखिरहन्छ भने
मदिरा पिउनुको के अर्थ रह्यो र ?
आऊ अतीत तिमी एक बिम्ब र प्रतीक बनेर
आऊ अतीत तिमी एक काव्य बनेर
किनकि
मलाई अघाउनु छ, तिमीलाई कवितामा पिएर
मैले बिर्सिएको दिन तिमी उभिनु मेरै सामु
कविता र उपन्यास बनेर ।
वि.सं.२०७६ असोज ११ शनिवार १०:४३ मा प्रकाशित



























