बर्षौं देखि…
जेठको प्रचण्ड गर्मीमा झोसिदै
चैतको हुरी र
पुस माघको ठिहि सित जुझ्दै
दिनहुँ असंख्य वाहनका
दुषित धुवाँले गुम्सिदै
जसोतसो आफ्नो अस्तित्व
जोगाइ बाँचेको छ
उ ….माथि..
सडक घुम्ती छेउको
त्यो बूढो पिपलको रूख ।
बदलिँदो परिवेश सितै
शहरीकरणका नाममा
फैलिदै गएका शहरका
बदलिँदो रूपको
मूक प्रत्यक्षदर्शी
त्यो बूढो पिपलको रूख,
तल खोला छेउका
धानका उप्जाउ फाँटहहरूमा
दिनहुँ ठडिदैं गएका
ठुला–ठुला भवनहरू हेर्दै
उहिले हावाका झोंका सितै
लहलह झुल्ने
धानका बालाहरू सम्झंदै
के सोच्दो हो कुन्नी ?
शहर सुन्दरीकरणको नाममा
बजारका गल्ली गल्छेंडोहरूमा
बिछ्याइएका
टायल्सहरूका कारण
एक मुठ्ठी माटो
देख्न सम्म हम्मेहम्मे,
आधुनिकीकरणले
बदलिएको शहर
देखेर हैरान
त्यो बूढो पिपलको रूख,
प्राकृतिक जलस्रोतहरू सुकाई
कृत्रिम फव्वाराहरूले
सुसज्जित शहरको
नयाँ रूप देखेर
मानिसको विनाशकारी
उच्च महत्वाकांक्षा प्रति
मन मनै कति
चिन्तित बन्दो हुन कुन्नि ?
आफ्ना यौवनका दिनहरूमा..
गर्मीले लत्रक्कै गलेका शरिरमा
शितलता ताप्न
आफ्नो विशाल छहारीमा बस्ने
यात्रीहरू देखेर
आनन्दित बन्ने,
यूगल प्रेमीहरूका प्रेमिल
वार्तालाप सुन्दै उल्लासले
हाँगाबिंगा हल्लाउँदै झुम्ने
त्यो बूढो पिपलको रूख,
बिते मास
अलि परको बूढो शिरिषको
आङ्गमा चलेको
आराको रेटाईको पीडा
महसुस गरि
कति त्रसित बने होलान् ।
द्रुतगतिमा अतिक्रमणको
शिकार बन्दै गएका
सडक माथिका जंगल देखेर,
सडकका आयतन
बडाउने क्रममा
दिनहुँ छानी छानी आफू जस्तै
बुढो रूखहरू काटिएका
दृष्य देखेर,
अब धेरै दिन आफ्नो अस्तित्व
जोगाइराख्न असम्भव
बन्ने त्रासले
मन मनै कति रूँदा हुन
त्यो बूढो पिपलको रूख कुन्नि ?
वि.सं.२०७६ असोज १८ शनिवार १०:०४ मा प्रकाशित






























