१ कार्तिक , जुम्ला । क्याम्पस प्रमुखको मासिक पारिश्रमिक ६ हजार मात्रै छ भन्दा कसैलाई विश्वास नलाग्नसक्छ । प्रमुखको तलब ६ हजार मात्रै जो कोही आश्चर्यमा पर्न पनि सक्छन्, तर यो सत्य हो । जुम्ला जिल्लाको सिञ्जा बहुमुखी क्याम्पसका प्रमुखको तलब ६ हजार मात्रै छ ।
२०६७ सालमा स्थापना गरिएको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सिञ्जा क्याम्पस तीब्र आर्थिक संकटमा परेको छ । आर्थिक स्रोत अभावले त्यहाँका शिक्षक तथा प्राध्यापकलाई तलब खानसमेत हम्मेहम्मे भएको हो । जम्मा २७ जना विद्यार्थी रहेको क्याम्पसमा विद्यार्थीले तिर्नुपर्ने शुल्कबाहेक अरु स्रोत छैन । मासिक ५ हजारका दरले तिर्ने शुल्कबाहेक केही पनि आर्थिक स्रोत नभएको क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख तीर्थबहादुर नेपालका अनुसार आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा निकै कठिन भएको छ । क्याम्पसमा तीन जना प्राध्यापक र चार जना कर्मचारी छन् । तर, आर्थिक स्रोत नभएका कारण प्राध्यापकले मासिक ६ हजार रुपैयाँ मात्रै तलब खानुपर्ने बाध्यता रहेको क्याम्पस प्रमुख नेपालको भनाइ छ । शुक्रबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ कात्तिक १ शुक्रवार ०८:३२ मा प्रकाशित






























