१८ कार्तिक , लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै युरोपेली युनियन (ईयू)बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गरेका छन् ।
त्यस्तै ब्रेक्जिट अभियानका अर्का नेता निगेल फारेजले आगामी महिना हुने आम निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनले ईयूसँग गरेको ब्रेक्जिट सम्झौताले भविष्यमा हुने बेलायत–अमेरिका व्यापार सहमतिलाई बाधा पार्ने भनी बेलायती प्रधानमन्त्री जोनसनको आलोचनापछि जोनसनले भने, “समयमा ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसक्नु दुःखद् कुरा हो ।”
बेलायती प्रधानमन्त्रीले भने , “म राष्ट्रपतिमाथि कुनै आक्षेप लगाउन चाहन्न । तर यस विषयमा उनी प्रष्ट भ्रममा छन् ।”
“जसले हाम्रो (बेलायत र ईयूको) सम्झौतालाई हेरेको छ उसले यसलाई ठूलो सहमतिका रूपमा लिएको छ । यसले हामीहरूलाई कर तालिकाबाट पूर्ण बन्धनमुक्त हुन दिएको छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार फारेजसँग कुरा गर्दै ‘आगामी डिसेम्बर १२ मा हुने निर्वाचनमा ब्रेक्जिट पक्षधर समूह जोनसनको विपक्षमा हुने र ईयूसँगको सम्झौताका निश्चित आधारहरूमा रहेर हेर्दा बेलायत–अमेरिका व्यापार सम्झौता सम्भव हुन नसक्ने’ धारणा राखेका थिए ।
वि.सं.२०७६ कात्तिक १८ सोमवार १०:०१ मा प्रकाशित





























