राजा विरेन्द्रकै पालमा घोषित एशियाली मापदण्डमा पुर्याउने सपना मात्रै हैन बहुदल आगमन पछि नेपाललाई सिंगापुर जस्तै बनाउने नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको उद्घोष र माओवादि सत्तासिन भएपछि संघियता सहितको नयाँ नेपाल स्विजरल्याण्ड जस्तै हुने प्रचण्ड बाबुराम हरुको गर्जन पनि पानीको फोकाजस्तै भयो । त्यतिमात्र हैन सिंगापुर वा स्विजरल्याण्ड बनाउने कुरा हास्यास्पद र हास्यव्यङ्ग्यका र सटायरिक डाईलग बन्दैछन ।
दशकौं लामो राजनीतिक अस्थिरता, गरीबी, पछौटेपन, पक्षपात र अनियमितताबाट गुज्रिएको नेपालको मुल कारक जहानिया राजनीतिक व्यबस्था, संवैधानिक अवरोध र अल्पमतका सरकारहरु थिए भन्ने आम आँकलन थियो । र, ती अवरोधहरु हटिसकेका छन । मुलुकमा राजतन्त्र विस्थापित भै संघिय लोकतान्त्रिक गणतन्त्र, पुरानो संविधान को सट्टा नेपालको संविधान २०७२ र अल्पमतमा घिसिपिटि गरिरहने सरकारहरुको सट्टामा दुई तिहाई बहुमत नजिकैको नेकपाको सरकार छ । राजनीतिक स्थायित्व, आर्थिक विकास र समाजवादको दिशाको नारा सहित सरकार विराजमान भएको पनि दुई वर्ष पुग्दैछ । तर जनअपेक्षा र सत्तासीन नेताहरुको आश्वासन बमोजिम आशातित सफलताहरुले पछ्याउन सकेको देखिदैन । कानुनी शासनको पालनाको दिशातिर केही हुन खोजेको हो कि भन्ने आशा आलम र महराहरुको गिरफ्तारीमा खोज्नु पर्ने अवस्था छ । खासमा तथ्यांकहरुले अबको ३ वर्षले आर्थिक समृद्धि र समाजवादको यात्रा तय गर्ला भनी पत्याउने अवस्था छैन । कीन नेपाली नेतागणका आश्वासन र सपनाहरूले सँधै हावा खान्छन ?
संसारकै मै हुँ भन्ने अर्थशास्त्रीहरु उसको प्रगतिलाई अफ्रिकाको चमत्कारको संज्ञा दिन्छन । अर्कोतिर एशियाली मुलुक नेपाल पछिल्लो ५० वर्षमा खासै प्रगतिको बाटो समात्न सकेको छैन । खासगरी आर्थिक प्रगतिको सवालमा । त्यस्तो के राज छ जसले बोत्स्वानालाई समृद्धिको शिखरमा चढायो जुन नेपालका लागि पनि अनुकरणीय हुन सकोस् ।
राजा विरेन्द्रकै पालमा घोषित एशियाली मापदण्डमा पुर्याउने सपना मात्रै हैन बहुदल आगमन पछि नेपाललाई सिंगापुर जस्तै बनाउने नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको उद्घोष र माओवादि सत्तासिन भएपछि संघियता सहितको नयाँ नेपाल स्विजरल्याण्ड जस्तै हुने प्रचण्ड बाबुराम हरुको गर्जन पनि पानीको फोकाजस्तै भयो । त्यतिमात्र हैन सिंगापुर वा स्विजरल्याण्ड बनाउने कुरा हास्यास्पद र हास्यव्यङ्ग्यका र सटायरिक डाईलग बन्दैछन । समृद्धिको सपना विपनामा फेरिन सकिरहेको छैन । के नेपाल सँधै गरीबी, अभाव, पछौटेपन र अल्पविकसित अवस्थामै रहनु ? नेपालीको समृद्ध बन्ने सपना तुहिएकै हो ? के समृद्ध राष्ट्र सँग तुलना गर्ने कर्म र सपना सँधैका लागि हास्यास्पद हुन ? यस बारेमा आमरुपमा फरक धारणा निर्माण गर्न पर्छ । संसारमा तरक्कि गरेका, आश्चर्यजनक फडको मारेका र आर्थिक छलाङ मारेका केही देशहरु पनि छन । जस्तै : बोत्स्वाना ।
अफ्रिकाको दक्षिणी भागमा अवस्थित एक भूपरिवेष्ठित मूलुक हो बोत्स्वाना । नामिविया, दक्षिण अफ्रिका, जाम्विया र जिम्वाब्बेसँग सिमाना जोडिएको बोत्स्वाना सन १९६६ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको थियो । त्यसताका त्यहाँ जम्मा १४ किमि पक्कि सडक, २२ जना विश्वविद्यालयबाट स्नातक पास गरेका बौद्धिक र करिव १०० जना स्कुल तह पास गरेका मानिसहरु थिए । देशको अर्थतन्त्रको करीव ७० प्रतिशत बैदेशिक सहायता र अनुदानमा निर्भर थियो । प्रतिब्यक्ति आय प्रतिवर्ष ६० अमेरिकी डलर बराबरमात्र थियो । निर्यातको मुख्य बस्तु कृषि उपज थियो । गाईको मासु मुख्य निर्यात वस्तु थियो । करिव ५० वर्षपछि अहिले त्यस देशको अर्थतन्त्र अफ्रिकाको सबैभन्दा सबल र अनुकरणिय छ । सन २०१८ मा आईपुग्दा त्यस देशको प्रतिब्यक्ति आय ७८५३ डलर प्रतिवर्ष पुगेको छ । मान्नुस बोत्स्वानाले आर्थिक समृद्धिको उडान भरेको छ र वेगवान छ । संसारकै मै हुँ भन्ने अर्थशास्त्रीहरु उसको प्रगतिलाई अफ्रिकाको चमत्कारको संज्ञा दिन्छन । अर्कोतिर एशियाली मुलुक नेपाल पछिल्लो ५० वर्षमा खासै प्रगतिको बाटो समात्न सकेको छैन । खासगरी आर्थिक प्रगतिको सवालमा । त्यस्तो के राज छ जसले बोत्स्वानालाई समृद्धिको शिखरमा चढायो जुन नेपालका लागि पनि अनुकरणीय हुन सकोस् ।
प्राकृतिक श्रोतको उपयोग :
गरीबी, अभाव र पछौटेपनले आहात बोत्स्वानाले यसबाट मुक्ति पाउनका लागि हरसम्भव प्रयास गर्यो । उसले आफ्नो प्रकृतिमा अवस्थित हीरा पत्ता लगायो र यसको प्रशोधनको तयारी सहित हिराका गहनाहरुको उत्पादन र निकासीलाई प्राथमिकतामा राख्यो र सफल भयो । पानीको श्रोतहरुको अभाव र मरुभूमिको पीडालाई हीराले त्राण दियो र आज उ समृद्धिको शिखर चढदैछ । नेपालमा पनि प्राकृतिक श्रोतहरुको प्रचुरता रहेको मानिन्छ । पानी र जलश्रोतमा त नेपाल विश्वकै दोश्रो धनी राष्ट्र हो । मुस्ताङ, मनाङ लगायतका हिमालय पर्वतहरुमा युरेनियम रहेको अनुमान छ । युरेनियम अत्यन्तै महङ्गोमा निर्यात गर्न सकिन्छ । यसतर्फ खोज अनुसन्धानको कुनै पहल भएको छैन । जडिबुटी, काष्ठउत्पादन, बिद्युत जस्ता प्रकृति प्रदत्त वस्तुहरु निर्यातको अर्जुनदृष्टि बनाउन नेपालले बोत्स्वानाबाट सिक्न सक्छ ।
निपुण र सक्षम कर्मचारीतन्त्र :
अनुसन्धानकर्ताहरु बोत्स्वानाको आर्थिक विकास समृद्धिको मूल आधार त्यहाँको कर्मठ, निपुण र सक्षम कर्मचारीतन्त्रलाई मान्छन । मेरिटोक्रेसि बेसिसमा कर्मचारीहरुलाई सेवामा नियुक्ति गरिन्छ । राजनीतिक हस्तक्षेपबाट कर्मचारीतन्त्र मुक्त छ । समाजका सबैभन्दा सक्षम ब्यक्तिहरुको समुहले बोत्स्वानाको कर्मचारी संयन्त्र भरिएको छ । त्यसो त नेपालमा पनि लोकसेवा मार्फत सबैभन्दा सक्षम ब्यक्तिहरुलाई कर्मचारीतन्त्रमा लिने सैद्धान्तिक अवधारणा छ । तर, वस्तुत करारमा आसेपासेलाई नियुक्ति दिने र आन्दोलन वा हडतालको आवरणमा जुस पिलाएर स्थायी गराउने रोगले नेपाली कर्मचारीतन्त्रलाई र मेरिटोक्रेसिलाई ध्वस्त पारेको छ ।
सार्वजनिक संस्थाको संस्थागत विकास :
बोत्स्वानामा सार्वजनिक संस्थालाई संस्थागत विकासका लागि अवसरहरु दिईएको छ । नाताबाद, कृपावाद र पक्षधरतामुक्त बनाईएको छ । भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिएको छ । संस्थाहरुलाई संस्थागत विकासको अवसर दिनु समृद्धिको मार्ग निर्धारण गर्नु हो । गलत गर्नेहरुलाई दण्ड र राम्रो गर्नेहरुलाई पुरस्कृत नगरि यो सम्भव छैन । नेपालमा संस्थागत विकासको पक्ष उदासिन रहेको छ । सरकारि संस्थानहरु टाट पल्टनु यसैको उदाहरण हो । सरकारी स्कुलको जागिर रुचिको विषय हुनु तर त्यसैमा आफ्नो बच्चा पढाउन अरुचि पैदा हुनु नै संस्थागत अधोगतिको प्रमाण हो । जचुकालि, भृकुटी कागज, बाँसवारी जुत्ता, हेटौडा कपडा, काठमाडौ रोप वे, साझा यातायात सबै सकिय । आफुमात्रै सकिएनन देशलाई डुवाए । देशले सबैभन्दा बढि लगानी गरेको त्रिभुवन विश्वविद्यालय भन्दा काठमाडौं विश्वविद्यालयको गुणस्तरीयता मा मानिसहरूको विश्वास वढिरहेछ । कारण के रु सरकारका अङ्गहरु र सार्वजनिक संस्थाहरुमा संस्थागत विकास अवरुद्घ छ । संस्थागत भ्रष्टाचारको दलदलमा परेर निसासिएको अवस्था छ । कार्यकारीको कुर्चिमा चमत्कारीक ब्यक्ति लानमात्र सक्दा कति परिवर्तन सम्भव छ भन्ने हेर्न विद्युत प्राधिकरण हेरे पुग्छ । कुलमान भन्दा पहिलालका कार्यकारीहरु कति लापरबाही पुर्ण थिए अनुमान गर्न सकिन्छ । तर, ती लापरबाहीहरु कहिल्यै कारवाहिको दायरामा आएको देखिएन ।
राजनेताको भूमिका :
सफल कर्मचारी र प्रमाणित रेकर्ड भएको मानिसमात्र बोत्स्वानाको कार्यकारी प्रमुखका लागि योग्य मानिन्छ । कम्तिमा एक कार्यकाल उपप्रमुख भएको मानिसले मात्रै प्रमुख कार्यकारिमा रहने अवसर पाउने गरि निर्वाचन को व्यवस्था गरिएको छ । नेपालमा यो अभ्यास निकै पृथक छ । चिनियाँ मोडलमा जस्तै ुसेलेक्सन पलस ईलेक्सनु को मापदण्ड बोत्स्वानामा लागू छ । प्रजातान्त्रिक अभ्यासको नाममा केवल ईलेक्सनमा मात्रै भरपर्दा मेरिटोक्रेसि छायाँमा पर्छ । नेपालको अभ्यासमा ध्यानदिने हो भने पनि नेताहरु प्रशस्तै भए तर दक्षतासहितको राजनेताको अभाव खड्किएको सर्वत्र महसुस गरिएको छ ।
स्मार्ट कूटनीति:
आधुनिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सफल कूटनीतिक क्षमतामा निर्भर छ । अनुसन्धानहरुले बोत्स्वानाको कूटनीतिक क्षमता स्मार्ट रहेको देखाएका छन । छिमेकी दक्षिण अफ्रिकाको तुलनामा साह्रै सानो भुगोल र अर्थतन्त्र भएर पनि बोत्स्वानाको सन्तुलित र स्मार्ट कूटनीतिक क्षमताले गर्दा मित्रराष्ट्रहरुसँग सौहार्द सम्बन्ध बनाईराख्न सफल भएको छ । एउटा भूपरिवेष्ठित देशले त्यस तहको अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्नु उसको कूटनीतिक चातुर्यताको प्रतिफल हो । आर्थिक विकासमा कूटनीति र आर्थिक कूटनीतिक क्षमता अत्यन्तै आवश्यक तत्वहरु हुन । नेपालका सन्दर्भमा भने कूटनीतिक क्षमता र विदेश नीतिमा प्रशस्त सुधारका ठाउँ छन । खासगरि अस्थिर राजनीतिक अवस्थामा सरकारको परिवर्तन सँगै धारणा बदलिने गरेको पाईएको छ । सरकारमा हुँदा एउटा र वाहिरहुँदा अर्को स्ट्यान्डर्ड अपनाउनु नेपाली राजनीतिक नेतृत्वको चरित्र रहेको छ । सायद यहि कारणले विश्वकै दुईठुला अर्थतन्त्र चिन र भारतको सन्निकट रहेर पनि नेपालले बोत्स्वानाले जस्तो अपेक्षाकृत फाइदा लिन सकेको छैन ।
अन्त्यमा, नेपाल विश्वकै समृद्ध तर नेपालजस्तै प्रकृतिले समृद्ध, सानो र भुपरिवेष्ठित युरोपेलि राज्य स्विजरल्याण्ड, वा डेनमार्क वा नर्वेको जस्तो अहिल्यै नहोला एशियाली सफल सानो राष्ट्र सिङ्गापुर जस्तो पनि नहोला तर अफ्रिकी सानो भुपरिवेष्ठित बोत्स्वानाले जस्तै प्रगतिकोपथ त पछ्याउन पर्यो नि । हैन र रु गफले जे जे भनेपनि व्यवहारमा बोत्स्वानाबाट सिक्नसके नेपालको समृद्धिको यात्रा सुदुर क्षितिजको विषय पक्कै हैन । अतः योजना, कर्म र अनुकरणले समृद्धिको सपना साकार पार्न सकौं । धन्यवाद ।
वि.सं.२०७६ मंसिर १९ बिहीवार ०९:४२ मा प्रकाशित






























