पुस माघको निम्छरो घाम बनूँ
या त शितल जून बनूँ म
अजम्बरी गीतको भाका
या संगीतको धुन बनूँ म !
तिमीनैं भन प्रिय तिम्रा लागि
भन, के बनूँ म ।
चट्टानमा बज्रनु अघि
कलकल बग्ने झरना बनूँ म ।
या त ओईलिएर झर्नु अघि
वागमा फुलेको सुन्दर गुलाफ
अझ भनौं तिम्रा मायालु ओठमा फूल्ने
त्यो मीठो मुस्कान बनूँ म ।
तिमीनैं भन प्रिय तिम्रा लागि
भन के बनूँ म ।
तराईका अन्न भन्डार
सम्म फाँट मैदान बनूँ म ।
पहाडका गह्रा गह्रा
अनि कुना कन्दरा सम्म
फैलिएको चिया बगान बनूँ म
या बनौं एक अँजुली बैँस फुल्ने
तिम्रै जिन्दगीको उद्यान बनूँ म
तिमीनैं भन प्रिय तिम्रा लागि
भन के बनूँ म ।
बुद्ध बनूँ महाज्ञानी
या त ध्यानी बनूँ म
चुरे बनूँ नाँगो पहाड
रित्तो खानी बनूँ म !
पोतेर पुर्वमा लालिमा
नयाँ बिहानी बनूँ म ।
बनौं म सबको चिनजान
या सुनसान बनूँ म
बैँस उतै निचोरेर
चालीस पछि फर्काईने
या त पापी मुग्लान बनूँ म ।
तिमीनैं भन प्रिया तिम्रा लागि
भन के बनूँ म ।
सुरम्य ताल बनूँ या त
आहाल बनूँ म
सगरमाथाझैं अग्लिएर
उच्च हिमाल बनूँ म
माछापुच्छ्रे कंचनजंघा
अपि सैपाल बनूँ म ।
राई बनूँ शेर्पा गुरूङ
या त संथाल बनूँ म
मयुरसँगै नाँचौं या
डाँफे मुनाल बनूँ म
तामाङ्ग सेलो सोरठी
र द्यौडाको ताल बनूँ म ।
तिम्रै नजर सापटी लिई
संसार चिहाउने आँखिझ्याल बनूँ म
तिम्रो चाहा मार्दिन म
मेरो चाहा हार्दिन म
अरू केही नसके नि
सुन्दर नेपाल बनूँ म ।
तिमीनैं भन प्रिया तिम्रा लागि
भन के बनूँ म ।
वि.सं.२०७६ मंसिर २१ शनिवार १०:१४ मा प्रकाशित






























