२१ मंसिर, ओकल्यान्ड (पश्चिम क्यालिफोर्निया) । अमेरिकी राज्य क्यालिफोर्नियाको एक गोदामघरमा शुक्रबार भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको अमेरिकी अधिकारीले बताएका छन् ।
यसअघि कम्तिमा ४० जनाको मृत्यु भएको हुनसक्ने भन्दै अग्नी नियन्त्रक अधिकारीले मृतकका शरीर जम्मा गरिरहेका बताएका थिए ।
उक्त गोदामघरको एक तलामा रहेको ‘रेभ पार्टी’ (सङ्गीत तथा अन्य मोजमस्तीसहितको सेवा) प्रदान गर्ने रेस्टुरेन्टबाट आगलागी सुरु भएको बताइएको छ । उक्त भवनमा आगलागी नियन्त्रणका लागि कुनै सुविधा नभएकाले ठूलो क्षति हुन पुगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अग्नी नियन्त्रकले जनाएका छन् ।
भवनभित्र आगलागी भएपछि भवनको छानाबाट सुन्तला रङ्गको ज्वाला निस्केको प्रत्यक्षदर्शीले बताएका छन् । भवनभित्र भएका मानिसको एकीन सङ्ख्या भने अझै थाहा हुन नसकेको एलनिडा काउन्टी सेरिफका विभागीय प्रमुख सर्जेन्ट रे केलीले बताउनुभयो ।
भवनको भग्नावशेषभित्र थुप्रै मानिस पुरिएर रहेको हुनसक्ने उहाँले बताउनुभयो । अधिकारीले हराएका मानिसको खोजी कार्य जारी राखेको बताएका छन् । आगलागी हुँदा ५० देखि १०० जना मानिस भवनभित्र रहेको अपुष्ट समाचार बाहिर आए पनि केहीले आगलागीपछि भागेर बाँच्न सफल भएका थिए । एएफपी
वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:५३ मा प्रकाशित