विदेशमा हुँदा पनि, नेपालको माटो सम्झ ।
दाजुभाइ इष्टमित्र, हिंडेको त्यो बाटो सम्झ ।।
बाँझो रह्यो खेतबारी, उम्रिसक्यो शिरुपाते ।
हलगोरु कुदाउने, खेतको त्यो पाटो सम्झ ।।
दशौं बर्ष बितिसक्यो, गाउँघर छोडेको नि ।
दहीसंग मुछी खाने, भात हैन आटो सम्झ ।।
पर्यौ कि त तिमी पनि, फटाहाको चंगुलमा ।
जालझेल नजानेको, तल्लाघरे लाटो सम्झ ।।
पर्खाइ छ मात्र तिम्रो, नजर नि थाकी सके ।
यो आमैको नमेटिने, हृदयको फाटो सम्झ ।।
वि.सं.२०७६ पुस १९ शनिवार १२:३० मा प्रकाशित





























