ऊ आउँछु भन्थी आइन
किन आइन मसँग जवाफ छैन
किन आउँछु भनेर ढाँटी
त्यसको पनि जवाफ छैन
हुनसक्छ
ऊ आउने बाटो छोटो थियो
सकस ठूलो थियो
हुनसक्छ
ऊ आउने बाटो लामो थियो
समय छोटो थियो
हुनसक्छ
आउँदा आउँदै मनको चाहना बद्लियो
ऊ आइन
बाटैबाटो जो आएपनि
जस्तारंगका लुगा लगाएर आएपनि
कपाल जसरी कोरीबाटी गरेको भएपनि
झझल्को उसैको आउने रहेछ
जसले जगाएको हुन्छ अर्को सुषुप्त अभिलाषा
अचम्मको हुँनेरहेछ मनको विश्वास
बोलेपछि
सुनेपछि
हतारिदै बाटो हेरिरहदा रहेछन आँखाहरु
देख्नसकुन्जेल
उसैले भनेकी हो
अघेद्य सुन्दरतामा निखारिएर
घामको उज्यालोजस्तै चमक लिएर
आउँने छु
सोचेको थिँए
हतारिदै आउनी छे
ढोका ढकक्याउनी छे
चुकुल खुल्ने बित्तिकै कोठाभित्र
मध्यान्हको सूर्य पस्नेछ
आँखाहरु तिरमिराएर हराउने छन्
पर्खालभित्र सन्नाटा छाउने छ
चौबन्दी खुलेपछि
फेरिनेछन
स्वाँस्वाँ एकाकारका लयमा श्वासहरु
तर
विश्वासको तुषारो
कर्कलाको पातमाथी परेछ
उसको बाटो हेर्दाहेर्दै
झरेर सुकेको पत्तैभएन ।।
वि.सं.२०७६ माघ ४ शनिवार ११:३७ मा प्रकाशित






























