मात्र,
एक चिम्टी सिन्दुर त हो
सिँउदोको बाटो भएर
म भित्र प्रवेश गरेको
कति गाढा हुँदोरहेछ त्यो सिन्दुरको रंग
म जहाँ ,जहाँ टेक्छु
त्यही छाप छोडछ
म जहाँ जहाँ पुग्छु
त्यहीँ वास्ना छोड्छ
म आफ्नो दक्षताले अडिएँ भन्छु
अघोषित भर दिँदोरहेछ सिन्दुरले
म आफ्नो कलाकौशल चम्काउँछु भन्छु
झन् जलप लागेर उज्ज्वल हुँदोरहेछ सिन्दुरले
म मेरो संन्तान भन्छु
पुर्ण दावी गर्छ सिन्दुरले
मात्र एक चिम्टी सिन्दुरको यति कडा रंग
जतिबेला सिन्दुर सिँउदोमा पर्यो
सिन्दुरकै भए साइनाहरु
सिन्दुरकै भए कर्तब्यहरु
भगवानको नाममा
एकचिम्टी सिन्दुर नचढाँइदोहो त
अग्निको नाममा
एकचिम्टी सिन्दुर नचढाँइदो हो त
सिँउदोमा सिन्दुर परेको मितिदेखि
मेरो चेतना पनि सिन्दुरे रंगको हुँदोहो
स्वास प्रस्वास पनि सिन्दुरे रंगको चल्दोहो
मेरो बिचारको रंग
मेरो सपनाको रंग
मेरो निन्द्राको रंग र,
मेरो कर्मको रंगपनि सिन्दुरे हुँदोहो
मेरो भोक प्यास पनि त्यही रंगको हुँदोहो
मात्र
एक चिम्टी सिंन्दुरले म हिँडेको बाटो रंगिदा
धन्नै ! मेरो आवाज रंगिएन
पुस्तौ पुस्ता रङ्ग्याउने सिन्दुरको रंग
सिँउदोमा वर्षौ बस्दापनि
मस्तिष्क भने रंगिदोरहेनछ
तन मन रंगिदापनि
चेतना रंगिदो रहेनछ
कतै टाँसिने, कतै नलाग्ने
कतै नमेटिने, कतै नछोइने
कहिँ छाप छोड्ने, कहिँ नघोलिने
कस्तो भनुँ म यो सिन्दुरको रंग
वि.सं.२०७६ माघ ४ शनिवार ११:३५ मा प्रकाशित






























